आज देखि धादिङ पर्यटन तथा औद्योगिक मेला

1569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –  जिल्ला होटल संघ धादिङको आयोजनामा आज देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा ‘धादिङ पर्यटन तथा औद्योगिक मेला ‘२०७५ को आयोजना गरिने भएको छ ।

पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो शान भन्ने नाराका  साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँबराबरको कारोबार हुने लक्ष्य रहेको छ । फागुन १६ गते देखि शुरु हुने भनिएको मेला फागुन १५ गते ताप्लेजुङमा भएको  दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको असामयिक निधनले सिंङ्गो मुलुक शोकमा डुवेका कारण मुलुकले भोग्नु परेको दुःखद घटनाका कारण एक दिन पछि सरेको हो । मेलाको उदघाटन पुर्व राष्ट्रपति डा.रामवरण यादवबाट हुने आयोजकले जनाएको छ ।

फागुन २६ गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय  कलाकारद्वारा कला प्रदर्शन, कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।