फेसबुकमा अमर्यादित फोटो पोष्ट गर्ने दुई जना पक्राउ

1102 पटक पढिएको

१९ चैत्र २०७५, मंगलवार ०७:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्विरको दुरुपयोग गर्दै आपत्तिजनक शव्दहरु लेखेर सामाजिक संजालमा पोष्ट गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटेको टोलीले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रपति तथा प्रधानमन्त्रीको बिषयमा अत्यन्त अमर्यादित, अशोभनिय देखिने तस्विर पोष्ट गरी मानमर्दन गर्ने खालको कार्यमा संलग्न रहेको भन्दै पाल्पा जिल्ला परान्दीका निर्मल गैरेलाई भक्तपुरबाट र रुपन्देही शंकरनगरका यम प्रसाद पन्थीलाई चितवनबाट पक्राउ गरेको व्युरोले जनाएको छ ।
उनीहरुलाई बिद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आबश्यक अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ । अमार्यादिन फोटो राखेर राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन गर्न खोजेकाले उनीहरुलाई पक्राउ गरी बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले बताउनु भयो । बिद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै अरुको फोटो बिगारेर समूहगत रुपमा पोष्ट र शेयर हुनेक्रम बढ्न थालेपछि प्रहरीले यस्तो कार्यमा संलग्न हुनेहरुलाई कडा निगरानी गर्दै आएको छ ।