बेसहारा गाई पाल्न धार्केमा सुविधासम्पन्न गौधाम

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – अनाथ बालवालिकालाई लक्षित गरेर देशका विभिन्न स्थानमा बालगृह संचालन भएका छन। त्यसैगरी बुढेसकालमा छोराछोरी वा आफन्तको सहारा नपाएका वृद्धवृद्धाका लागि वृद्धाश्रम  असहाय, वेसहाराहरुका लागि स्याहार केन्द्र हरु खुल्ने गरेका छन।

अनाथ बालबालिका र असहाय बृद्धबृद्धालाई जस्तै स्याहार गर्न धादिङको धुनिबेशी नगरपालिकाको धार्केबजार नजिकै बेसहारा गाईवस्तुका लागि गौधाम अर्थात गाई बृद्धाश्रम संचालनमा ल्याईएको छ।
मारवाडी सेवा समितिबाट दुईवटा सुविधा सम्पन्न घर निर्माण गरी गौधाम संचालनमा ल्याएको हो। विसं २०६८ सालबाट निर्माण सुरु भएको १ सय ५० गाई अट्ने गौधाममा अहिले ६० वटा गाई राखिएको छ। गौधामका अनुसार पशुपती गौशालास्थित धर्मशालाबाट निकालिएका बृद्ध गाईको संरक्षणका लागि धार्केमा सुविधा सम्पन्न गौधाम संचालनमा ल्याईएको हो। गाई बृद्धाश्रम निर्माणका लागि राजेन्द्र खेतान, प्रदिप गोयल लगायतका मारवाडी समुदायका व्यवसायीहरुले पहल गरेका हुन्।
पृथ्वीराजमार्गबाट आधा किलोमिटर दक्षिणमा रहेको सुविधा सम्पन्न गौधाम ६३ रोपनी जमिनमा रहेको छ। गाईको स्याहारसँगै यस क्षेत्रमा गाई गोरुको उपचारका लागि सुविधा सम्पन्न भेटनरी अस्पताल स्थानीयको सेवाका लागि सामुदायिक अस्पताल, निम्न आयस्तर भएका अभिभावकका छोराछोरी पढ्ने बिद्यालयको समेत स्थापना गर्ने लक्ष्यका साथ मारवाडी सेवा समितिले योजना बनाइरहेको र अहिले सम्म १३ करोड लगानी गरिसकेको पनि सुब्बाले बताए। गौधामको स्थापनाबाट काठमाण्डौंको सडकमा अलपत्र परेका गाईको संरक्षण हुनुका साथै जैविक विविधताको समेत सुरक्षा हुने संचालकहरुको भनाई छ।
सडकमा छाडिएका गाईले सवारी दुर्घटना बढ्नुका साथै गाईमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि राजधानी बाहिर गौधामको निर्माण गरी अलपत्र गाईको स्याहार गर्न थालिएको मारवाडी सेवा समितिले जनाएको छ। गौधाममा रहेका गाई स्याहारका लागि स्थानीय व्यक्तिले रोजगारी समेत पाएका छन। गाईको नियमित रुपमा स्वास्थ्य जाँच समेत हुने गरेको छ। गौधाममा रहेका गाईबाट उत्पादित मललाई गौधाम भित्र सुरु गरिएको अर्गानिक तरकारी खेतीका लागि प्रयोग गर्ने गरिएको र प्रयोग गरेर बढी भएको मल गौधामको आयआर्जका लागि किसानलाई बिक्री गर्दै जाने लक्ष्य रहेको गौधामका कर्मचारी रामकृष्ण रेग्मीले जानकारी दिए। दुई तले भवनको दुवै तलामा गाईहरु राखिएका छन।