धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

3161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, ६ जेठ – देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । सडक खन्नु मात्रै विकास होइन आर्थिक स्तरमा सुधार आउने कार्यक्रम पनि विकास हो, कृषिमा आधुनिकीकरण गर्दै कृषि उत्पादनमा बृद्धि, जलबिद्युत्त आयोजनाको निर्माण, सिपमुलक शिक्षा जस्ता बिषयमा अबका कार्यक्रमहरु बन्नु पर्ने र यस बर्षको वजेटमा केही नयाँ पन ल्याउन सरकारले तयारी गरिरहेको प्रधानमन्त्री ओलीले वताउनु भयो ।

सूचना महामार्ग निर्माण ( अप्टिकल फाईबर नेटवर्क) बिछ्याउने खाडल खन्दै प्रधानमन्त्री केपि शर्मा ओली

हामी सुखी नेपाली,सम्बृद्ध नेपालको परिकल्पना गरिरहेका छौं तर प्रदेश र स्थानीय तहका सरकारले आंफँुलाई छुट्टै सार्वभौम सम्पन्न सत्ताको रुपमा ठानेर नेपाल सरकार भन्दा छुट्टै हो भन्न थालेको प्रधानमन्त्री ओलीको गुनासो थियो । देशमा विकास र परिवर्तन आवश्यक छ जस्ले मुलुकमा शान्ति, सम्बृद्धि ल्याउनु पर्दछ । सम्बृद नेपाल निर्माण गर्नु हरेक तहको सरकारको जिम्मेवारी हो, नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरपनि नेपाल सरकारको निति र कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको पनि भएको प्रधानमन्त्री ओलीले वताउनु भयो ।
मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण ( अप्टिकल फाईबर नेटवर्क) कार्य सोमबारदेखि औपचारिक रुपमा शुरु भएको छ । मध्य पहाडी लोकमार्गमा बिछ्याउने सो अप्टिकल फाइबर नेटवर्कको सोमबार धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ४ मासटारबाट प्रधानमन्त्री केपि शर्मा ओलीले फाईबर गाड्ने खाडल खन्दै शुरुवात गर्नु भएको हो । अप्टिकल फाइबर बिछ्याउने कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने वताउनु भयो । यो आयोजना सम्पन्न भएपछि ट्रान्सपोर्ट नेटवर्कको उच्च क्षमता तथा गुणस्तरका कारण नेपाल टेलिकमको दुर संचार सेवाहरुमा उच्च गुणस्तरको सुधार आउने नेपाल टेलिकमले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरेर शुरु भएको सो अप्टिकल फाइबर नेटवर्क बिछ्याउने कार्य सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा समेत गरी एकै पटक तीन स्थानबाट शुरु भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कुल ८ सय ४ किलोमिटर तथा उक्त मार्गको उत्तर ÷ दक्षिण क्षेत्रमा १ हजार ५ सय ७२ किलोमिटरको स्पर लींक गरी कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ । यसका साथै १००जी क्षमताको पूर्वाधार बिस्तार गर्ने योजनामा नेपाल दुर संचार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले वताउनु भयो ।

मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाउन आयोजना संचालन गरिएको हो । ब्रोडब्यान्ड नेटवर्क र एफटीटीएच सेवाको उपलब्धतासँगै विद्यमान कपर (तामा) तारबाट सञ्चालित स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरमा रुपान्तरण गरिने नेपाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा जानकारी दिनु भयो ।

आयोजना अन्र्तगत नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुने बताईएको छ । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । सोहि सम्झौताअनुसार टेलिकमले अप्टिकल फाइबर बिछ्याउने काम शुरु भएको हो ।

आयोजना समयमै सम्पन्न गर्नका लागि टेलिकमले ५ वटा कम्पनीसँग सम्झौता गरेको जानकारी दिएको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरले जिम्मा लिएका छन् ।

यसैगरी प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले गर्ने भएको छ । डिडव्लुडिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले वताउनु भयो । मध्य पहाडी लोकमार्ग क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि आवश्यक रकम नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत नेपाल टेलिकमलाई उपलब्ध गराउने प्राधिकरणका कार्यवाहक अध्यक्ष खनालले वताउनु भयो ।

एफटीटीएच सेवा अन्तरगत एउटै अप्टिकल फाइबर मार्फत प्रयोगकर्ताहरूलाई टेलिफोन, उच्च गतिको इन्टरनेट तथा आइपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवा पनि प्रदान गर्न सकिनेछ । चरणबद्ध रूपमा हाल इन्टरनेट प्रयोगको लागि प्रदान गरिएको एडीएसएल सेवालाई एफटीटीएचमा रुपान्तरण गरिने र नयाँ ग्राहकहरूलाई पनि एफटीटीएच सेवा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना शुरु गरिएको सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनु भयो ।

प्राधिकारणका कार्यवाहक अध्यक्ष खनालको अध्यक्षतामा भएको मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण ( अप्टिकल फाईबर नेटवर्क) कार्यको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै नेपाल सरकारका सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बांस्कोटा, प्रदेश नम्बर ३का मुख्य मन्त्री डोरमणि पौडेल, संघीय सांसदहरु खेमप्रसाद लोहनी, भूमीप्रसाद त्रिपाठी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे, नेपालका लागि चिनियाँ राजदुत हौ वाङ छि ले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका प्रदेश सभा सदस्यहरु, विभिन्न स्थानीय तहका पदाधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि एवम सर्वसाधरणको उपस्थिति रहेको थियो ।