सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

1446 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम नरोकिएपछि सडक विभागले पहिरो रोकथामका लागि वृक्षारोपण शुरु गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका–३ सिरानवजारको सडक भासिँदा यहाँका दर्जनौं घर जोखिममा परेका छन । भासिएको सडक मर्मत सम्भार गरिरहेको सडक विभागले पहिरोको जोखिम रहेको सडक भन्दा तल खाली जमिनमा शनिवार वृक्षारोपण गरेको हो ।

बर्षौदेखि बजार क्षेत्रको सडकको जमिन चिराचिरा परेर भासिने क्रम नरोकिंदा बजारका धेरै घर पहिरोको जोखिममा परेको थियो । बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण जुनसुकै बेला पहिरो खस्ने सम्भावना रहेको भन्दै सडक विभागले सिसौं, काँस, अम्रिसो,रुद्राक्ष, बकाईनो,नीम लगायतका ५ सय भन्दा बढी विरुबा पहिरो जोखिम क्षेत्रमा लगाईएको सडक विभाग साईट सुपरभाईजर अर्जुन सापकोटाले वताउनु भयो । पहिरो खसेको ठाउँमा सडक विभागले तारजाली लगाई सिमेण्टेड वाल लगाउनुका साथै सडक भन्दा तलको जोखिम बढी भएको क्षेत्रमा बृक्षारोपण गरि पहिरो रोकथामको प्रयास गरिएको र वगेर जाने माटोलाई नियन्त्रण गर्न बृक्षारोपण गरिएका बिरुवाले सहयोग गर्ने  सापकोटाले जानकारी दिनु भयो ।

धादिङबेसीको सिरानवजार चौतारोभन्दा माथिको भागमा पटक पटक सडक चिरा पर्ने समस्या रहेको छ । २०७२ सालको महाभुकम्पका वेलामा पनि यो सडक खण्ड चिरा चिरा हुन पुगेको थियो । पहिरोले भासिएको स्थान हुंदै सदरमुकाम धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको ३ को केही भाग र ४,५,६,७ का साथै १४ नम्बर वडाका अधिकांश गाउँवस्ति र नेत्रावती गाउँपालिकाको कटुन्जे जाने मुख्य सडक समेत रहेको छ ।