धार्मिक तथा पर्यटकीय स्थल गंगाजमुना झरना

2826 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– प्रजुन कुमार अधिकारी

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क ढाँडखर्कमा अवस्थित गंगाजमुना झरना जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलमा हरेक बर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो दिन बेलुका देखि भक्तजन र बर्तालु हरू जात्रालु हरू दशमी को दिन बेलुका देखि फुलको डोली लगेर बत्ती माहाबत्ती बालेर जागराम बस्छन र एकादशी को दिन बिहान यो गंगा जमुना को छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगबान गंगा जमुनाको दर्शन गरि फिर्ता भई दिन भरी घरमा रहेको तुलसी को मन्दिर बनाई पुजा गरि फलफुल र सखरखण्ड पिडालु जस्तो फलार खाई बर्त बस्छन ।

ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरनामा गएर नुहाउने तथा मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन रहिआएको छ । सो झरना ३ सय मिटर माथिबाट झरेको छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजा आजा गर्ने प्रचलन पनि रहेको छ । मेलामा स्नान गरी पूजा गर्ने, बत्ती बाल्ने, फुलको डोली लैजाने गर्दछन् ।

गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको छ ।

गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

यस मन्दिरमा बली नचढ्ने हुनाले भाकलका लागि पुगेकाहरुले जिउँदो परेवाहरु उडाउने गर्दछन् । धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ ।

गंगाजमुना मेला भर्न गएकाहरु अघिल्लो दिन रातभर जाग्राम बसी भोलिपल्ट बिहानै झरनामा नुहाएर नारायणको पुजाआजा गरि फर्कन्छन् । भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लिन सकिन्छ ।

  • खसोखास डट कम बाट