अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

1669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,३ कात्तिक – धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा भेटिएका छन् ।

पासपोर्ट नं पि ६१६८१८५ भएका अस्ट्रियाका नागरिक बर्ष ६७ को WEHINGER WILHELM शनिबार सांझ ७.३० वजे तिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ सोमदाङ पुगि बास बसेकोमा आईतबार विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाण्डौको हाई कन्ट्री ट्रेकिङ प्रा.लि.बाट धादिङ रुवीभ्याली तथा गणेश हिमाल क्षेत्रमा ट्रेकिङको लागि आएका अष्ट्रियाका नागरिक सुतेको ठाउँमा मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय धादिङका एसपि राजकुमार वैदवारको नेत्तृत्वमा प्रहरी टोली अल्टिच्युट एयरको हेलिकप्टरबाट घटनास्थल गएको थियो ।

जिल्लाकै अति विकटमा रहेको सोमदाङ सदरमुकाम धादिङबेसीबाट ३ दिनको पैदलयात्रा पछि मात्रै पुग्न सकिन्छ भने रसुवाको स्याफ्रुबेसीबाट मोटरमा ५ घण्टाको यात्रा पछि पुग्न सकिन्छ । सोमदाङ गणेश हिमाल पर्यटकीय क्षेत्र प्रवेश गर्ने धादिङ जिल्लाको मुख्य नाका हो । धादिङ रसुवा जिल्लाको सिमाना भएर वगेको मैलुङ खोला किनारमा रहेको सोमदाङबजार समुद्री सतहबाट ३२७० मिटरको उचाईमा रहेको छ ।

रुवीभ्याली गाउँपालिकाको सेर्तुङस्थित प्रहरी चौकीबाट घटनास्थल पुग्न कम्तिमा ९ घण्टा लाग्दछ । प्रहरी उपरिक्षक बैदवारका अनुसार शव घटनास्थल बाट हेलिकप्टर मार्फत काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पताल पठाईएको छ ।