चीनमा भएको ट्रेलरेसमा धादिङकी रसिलाले जितिन स्वर्ण

2424 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ८ पुस – पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्न थालेका छन । गएको शुक्रवार चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङकी रसिला तामाङले नेपालको लागि स्वर्ण जितेकी छिन् । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले स्वर्ण जितेकी हुन् । २० वर्षीया रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरेर स्वर्ण जितेकी हुन् ।

भोन काठमाण्डौं एडभेन्चरका ट्रेल डाईरेक्टर आशिष मिश्रका अनुसार चिनमा शुक्रवार सम्पन्न भएको प्रतियोगितामा रसिलाले स्वर्ण जितेकी हुन् । मिश्रका अनुसार यो ट्रेल रेस सामान्य म्याराथन जस्तो सोझो रेस नभएर हाइअल्टिट्युडको अफ्ठ्यारो ठाउँमा हुने रेस हो । यो रेस २ हजार मिटर अल्टिट्युडबाट शुरु भएर ४२०० मिटर अल्टिट्युडमा पुगेर फेरि २ हजार मिटरमै फर्कनु पर्र्ने हुन्छ ।

रेसमा पहाड तथा हिउँ भएको ठाउँमा पनि दौडनु पर्ने हुन्छ । तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण जितेकी हुन् रसिलाकी निकटतम प्रतिद्वन्दी उनी भन्दा १ घन्टा १३ मिनेट पछि थिइन् ।

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर २ कुखुरेचौर घर भएकी रसिला यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो भएकी थिइन् । सो म्याराथनमा रसिलासँगै गनेशबहादुर ठकुरी, सन्तोषविक्रम विक्रम विष्ट, दुर्गराज बुढा, दामोदर बुढा, इन्द्रकला नेम्बाङ सहभागी थिए ।

यता पुरुषतर्फ दुर्गराज बुढा दोस्रो भए भने दामोदर बुढा तेस्रो भएका थिए । दुर्गराजले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरका थिऐ । त्यस्तै दामोदर बुढाले ७ घन्टा ८ मिनेट २१ सेकेन्डमा रेस पुरा गरेका थिए । पुरुषतर्फ चीनका याङ लुक फेइले रेस जितेका थिए। उनले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गरेका थिए ।

यसै बिच १३ औं साग गेममा धादिङ जिल्लाबाट सहभागी तथा पदक विजेताहरुलाई राष्ट्रिय तेक्वान्दो संघ धादिङले पुस ११ गते धादिङबेसीमा सम्मान गर्ने भएको छ । संघका अध्यक्ष अमृत तामाङका अनुसार साग गेममा धादिङका ११ जना खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएकोमा ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेका थिए ।

त्यसै गरि थाईल्याण्डमा केही दिन अघि सम्पन्न अन्र्तराष्ट्रिय मुईथान बक्सिङ प्रतियोगितामा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङका शंकर धमला मुईथान च्याम्पिन बनेका थिए । धमलाले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागि भएर स्वर्ण पदक जितेको भन्दै उनको गाउँमा सम्मान गरिएको छ ।

गत साल हङकङमा अन्तराष्ट्रिय प्रतियोगिता जितेका धमलाले गत साता थाईल्याण्डमा भएको प्रतियोगिताको जित सँगै दोस्रो अन्तराष्ट्रिय जित हासिल गरेका हुन् ।