गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

1161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी 

धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ ।

वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान भएको सडक निर्माण भएमा धादिङको गल्छीबाट ५२ किलोमिटरको यात्रा पछि हेटौंडा पुग्न सकिनेछ । अहिले गल्छीबाट नारायणगढ हुँदै हेटौंडा पुग्न १ सय ७० किलोमिटर यात्रा गर्नुपर्छ ।

धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाको सिमानामा पर्ने गैरी भन्ज्याङ थुम्कोबाट मकवानपुरको कैलास, राक्सिराङ र मनहरी गाउँपालिका हुँदै बागमती प्रदेशको राजधानी हेटौंडा ५२ किलोमिटरमा पुग्नेगरी नयाँ सडकको सम्भावना देखेर सर्वेक्षण गरिएको जिल्ला समन्वय समिति (जिसस) धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनु भयो । वैकल्पिक राजमार्गको प्रारम्भिक सर्वेक्षणका लागि जिसस प्रमुख नेपाल, गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, गल्छी ५ नम्वर वडाध्यक्ष प्रेमबहादुर तामाङ, ६ नम्बरका अध्यक्ष राजन श्रेष्ठ, ७ नम्बर अध्यक्ष हरि खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्यहरु नरेश खतिवडा, केदार खतिवडा, इन्जिनियर रवि अधिकारी र प्रभात बरालका साथै गल्छी गाउँपालिकाका सामाजिक राजनैतिक कार्यकर्ता लगायतको टोली खटिएको थियो।


सर्भेक्षण टोलीमा रहेका इन्जिनियर अधिकारीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गको सुत्केरीढुंगाबाट चिरौंदी भन्ज्याङसम्म ८.२ किलोमिटर, चिरौंदी भन्ज्याङदेखि रयालेसम्म ३.१ समेत गरि कुल ११.३ किलोमिटर ग्रामीण सडक निर्माण भई यातायात सञ्चालनमा रहेको छ। त्यसैगरी, धादिङ जिल्लाको गौरीभन्ज्याङ, थुम्की हुँदै मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा पर्ने सागर भन्ज्याङसम्मको ८ किलोमिटर र सागर भन्ज्याङदेखि हेटौंडा जोड्ने ३० किलोमिटर ग्रामीण सडकमा पनि अहिले मोटर गुडिरहेको छ। हाल सञ्चालनमा रहेका सडकहरुको मर्मतसम्भार र आवश्यकताअनुसार थप खण्ड निर्माण गर्दा वैकल्पिक राजमार्गको रुपमा प्रयोगमा ल्याउन सकिने तथा धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट प्रदेश राजधानी पुग्न लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ ।


सडकको निर्माणले धादिङको गल्छी, गजुरी र मकवानपुरको कैलाश,राक्सिराङ र मनहरी गाउँपालिकाका बासिन्दा बढी लाभान्वित हुनेछन्‌। सडकले दुवै जिल्लाको गरी पाँच गाउँपालिकालाई छुनेछ। अहिले भएको सडकलाई थोरै स्तरोन्‍नती गरेर खोल्सा र खोलाहरुमा कल्भर्ट तथा कजवे, व्यवस्थित नालाको निर्माण साथै साँघुरो ठाउँमा फराकिलो गरिदिँदा प्रस्तावित सडकमा बर्षैभर मोटर गुड्न सक्ने अवस्था देखिएको सर्भेक्षण टोलीका सदस्य नरेश खतिवडाले जानकारी दिनुभयो ।

भईरहेको सडकलाई स्तरोन्नती गरेर दुईतर्फी मोटर गुड्न सक्ने बनाउन लाग्ने लागतको अनुमान गरी आवश्यक योजना तथा बजेट बनाउन संघीय, प्रादेशिक र स्थानीय तहका सरकार र सरोकारवाला निकायसँग छलफल गरिने भएको छ। प्रस्तावित सडकको निर्माणले राष्ट्रिय राजमार्गमा सवारी चाप कम हुनुका साथै प्रदेश राजधानी पुग्ने छोटो दुरीको वैकल्पिक सडकको दीर्घकालिन व्यवस्था हुने जिसस धादिङका प्रमुख नेपालले बताउनुभयो ।