धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

1347 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।

नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो।

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा बिस्तार गर्दा  धादिङका गाउँ गाउँमा पनि यो सेवा पुगेको हो । नेपाल टेलिकमका अनुसार देशभरका ६२० स्थानीय तहमा फोरजी एलटिई सेवा पुगेको हो।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दिएको जानकारी अनुसार देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको एलटिई एडभान्स विस्तारको काम जारी रहेको र सेवा पुग्न बाँकी रहेका स्थानीय तहमा पनि छिट्टै सेवा विस्तार गरिनेछ ।

‘मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलो पटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटिई एडभान्स फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तहसम्म पुगिसकेको छ,’ अधिकारीले बताउनुभयो ।

सेवा पुगेका स्थानका उपभोक्ताले उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्नेछन् ।नेपाल टेलिकमले आफ्नो आधिकारिक वेभसाईडमा फोरजी सेवा पुगेका धादिङ लगायत देशैभरका  स्थानीय तहरुको बारेमा जानकारी राखेको छ ।

के हो फोरजी सेवा ?

फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ ।

फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ ।

कसरी गर्ने ‘एक्टिभेट’ ?

टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।