धादिङको मलेखु अब ‘डिजिटल बजार’

2130 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो ।

माछाका परिकारका लागि प्रख्याती कमाएको धादिङको मलेखु बजारलाई अब डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर मार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारमा डिजिटल सेवाको उद्घाटन गर्नु भएको हो । शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको संचालक समितिका सदस्य र व्यवस्थापनका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुती गरेका थिए । कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो ।

बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिन मार्फत सेवा प्रदान गर्दै आएको छ । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदानगर्दै आएको छ ।