खानेकुरा बोकेर ग्राहकको घरसम्मै पुगिन् ज्योति

1745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ ।

मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ । ‘फुडगन्ज’ ले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्‍याउने गरेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन् । उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्‍याइनेछ । ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।

छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् । उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो । आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’