थांक्रेको रानीझरनामा क्यानोनिङ रिसर्च सेन्टर बनाईदै

915 पटक पढिएको

प्रकाशित मिति: २०७८, ४ जेष्ठ मंगलवार १२:४७

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ । नेपाल सरकारको सय नयाँ गन्तव्यको सूचिमा समावेश भई पर्यटन पूर्वाधार निर्माण कार्य भइरहेको धादिङको थाक्रे गाउँपालिका वडा नं. ६ स्थित रानीझरना क्षेत्रमा पाँच सय सिट क्षमताको सेमिनार हल सहितको क्यानोनिङ रिसर्च सेन्टर बन्ने भएको छ । नेपाल सरकारको विशेष अनुदानमा निर्माण गर्न लागिएको सो भवनको सोमबार गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा धादिङ क्षेत्र नं. १ का सांसद भुमि त्रिपाठीले सो भवनको शिलान्यास गर्नु भएको छ ।

५ करोड रुपियाँ लागत अनुमानमा वोलपत्र आव्हान गरिएको सो भवन ४ करोड ७ लाख रुपियाँमा गौरेश्वर निर्माण सेवा प्रा.लि. र आएनसी जेभिले निर्माणको जिम्मा पाएको छ ।

शिलान्यास समारोहमा प्रमुख अतिथि सांसद त्रिपाठीले कोभिडका बीचमा पनि विकास निर्माणका कामहरु नरोकिकन अगाडी बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी समृद्धिको यात्रामा छौं ।’ जस्तोसुकै प्रतिकुल अवस्था भए पनि अनुकुलता खोज्दै अगाडी बढ्ने परम्परा परम्परा अनुरुप आज यो शिलान्यास गरी निर्माण कार्यलाई तिब्रता दिन खोजिएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायिलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न अनुरोध गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपना देखिरहँदा यो ठाउँमा पनि नेपाल सरकारको आँखा पुगेको उहाँले बताउनुभयो । सांसद त्रिपाठीले भन्नुभयो यो ठाउँलाई समृद्ध बनाउन केके सम्भावना छ भनेर खोजि गर्दा रानीझरना भेटियो । यहीं मिनि लुम्विनीको कन्सेप्टमा पुर्वाधार निर्माणको काम धमाधम भइरहेको छ र आज सुविधायुक्त भव्य सेमिनार गर्न मिल्ने हल निर्माण गर्न लागिएको छ । यस क्षेत्रमाम सरकारको तर्फबाट निर्माण गरिने संरचनाहरु युद्धस्तरमा बनाइरहेको बताउँदै सांसद त्रिपाठीले अव निजि क्षेत्रलाई यहाँ आव्हान गर्छौं भन्नुभयो ।

यो परियोजना यहाँको आर्थिक उपार्जनसंग जोडिनुपर्छ भन्दै उहाँले यहाँका मानिसहरुको जिवनस्तर उकासिने र बेरोजगारले रोजगारी आफ्नै गाउँमा पाउने कुरामा विश्वास रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको गौरवको परियोजना भएकोले समृद्धिसंग जोडेर अगाडी बढाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आज खाली जमिनमा निर्माण भइरहेका परियोजना मात्र हेर्दा केही नदेखिन सक्छ, भोली यो निर्माण सम्पन्न भइसकेपछि समृद्धिसंग जोडिन थालेपछि सबैको आकर्षण बन्नेछ र यसले यहाँ रोजगारी र स्वरोजगार सृजना गर्नेछ ।’


कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, गैसस महासंघका केन्द्रीय सदस्य गोकर्ण रुपमाखेती, नेकपा एमाले थाक्रेका अध्यक्ष कृष्णप्रसाद पन्त, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामेश्वर कार्की, २ नम्बर वडा अध्यक्ष राजकुमार पौडेल, ११ नं. वडा अध्यक्ष रविप्रकाश ओझा लगायतको उपस्थिति सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पूर्णबहादुर कार्कीले स्वागत गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले सञ्चालन गर्नुभएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, ४ जेष्ठ मंगलवार १२:४७ मा प्रकाशित