गल्छी गाउँपालिकाको कार्यालय अब अम्लेश्वर महादेव मन्दिर परिसरमा

231 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिकाको प्रशासनिक भवन ( गाउँपालिका कार्यालय) ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा स्थापना हुने छ ।

गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले बैशाख २६ गते मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालय स्थानान्तरण हुन लागेको जानकारी गराएको हो । कार्यालयले बैशाख २८ गते देखि ३१ गते सम्म तीन दिन पालिकाको कार्यालय वन्द रहने जानकारी गराएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनामा लेखिएको छ ‘ प्रस्तुत बिषयमा गल्छी गाउँपालिका, गाउँ कार्यपालिकाको प्रशासकीय भवन गल्छी गाउँपालिका वडा नम्बर –६, महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा रहेको नयाँ शहर आयोजना कार्यालयको पुरानो भवनमा सार्ने प्रयोजनार्थ मिति २०८० बैशाख २८ गते देखि ३१ गते सम्म सार्वजनिक विदा बाहेक ३ दिन कार्यालयको अत्यावश्यक सेवा बाहेक अन्य सेवा वन्द रहने व्यहोरा जानकारी गराईन्छ । साथै यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय क्षमाप्राथी छ ।’गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले हस्ताक्षर गरेर सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

गाउँपालिकाको कार्यालय कहाँ रहने भन्ने विवाद अब अन्त्य हुने भएको छ । केही दिन अघि मात्रै पालिकाले प्रशासनिक भवन निर्माणका लागि भन्दै टेण्डर आव्हान गरेको छ । साविकको बैरेनी गाविसको कार्यालय रहेको स्थानमा केही जग्गा थपेर पालिकाको भवन निर्माण कार्य अघि बढिरहेको छ ।

साविकको बैरेनी, कल्लेरी र गोगनपानी गाविसलाई समेटेर घोषणा गर्न लागिएको गल्छी गाउँपलिकाको केन्द्र भल्टारमा तोकिएको भएपनि साविकको गोगनपानीको आधा भूभाग थांक्रे गाउँपालिकामा समेटिए पछि गल्छीको केन्द्र भल्टार बाट बैरेनी कायम भएको थियो । आफ्नै स्वामित्वको भवन अभावमा गल्छी गाउँपालिका स्थानीय तहको पहिलो निर्वाचन २०७४ पछि बैरेनी वजारमा भाडाको घरमा बस्दै आईरहेको थियो । भाडामा कार्यालय रहेको स्थानमा प्रशासनिक कार्य सञ्चालनका लागि ठाउँको अभाव हुनुका साथै पार्किङको समेत समस्या रहँदै आएको थियो । व्यक्तिको घरलाई कार्यालय वनाईदा कार्यालयको लागि चाहिने आवश्यक पूर्वाधार नपुग्दा सेवाप्रदायक र सेवाग्राहीहरु समेत समस्या भोग्न वाध्य हुंदै आईरहेका थिए । पाँच बर्ष सम्म भाडामा बस्दै आईरहेको पालिका अब भने सरकारी स्वामित्वको भवनमा सर्न लागेकोमा सर्वसाधरणले खुसी व्यक्त गरेका छन् । कति पयले भने कार्यालय सारेकोमा आक्रोश पोख्दै सामाजिक सन्जालमा विरोध जनाएका छन् ।

धार्मिक, साँस्कृतिक, पर्यटकीय एवम ऐतिहासिक महत्वको क्षेत्रमा गाउँपालिकाको कार्यालय स्थापना हुनुले महेशदोभान क्षेत्रको महत्व बढेको छ ।

नयाँ शहर आयोजनाले जिन्सेटारमा नयाँ भवनको निर्माण गरेपछि पुरानो भवन प्रयोग विहिन अबस्थामा रहेको थियो । गत स्थानीय निर्वाचनमा गल्छी गाउँपालिका निर्वाचन कार्यालय र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समयमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ स्तरीय निर्वाचन कार्यालय यहि भवनमा स्थापना गरिएको थियो ।