धार्मिक तथा पर्यटकीय गन्तव्य गल्छीको रणकालिका मन्दिर
191 पटक पढिएको

केशव अधिकारी
गल्छी(धादिङ), ९ फागुन २०८१ । धादिङको गल्छी गाउँपालिका-४ मा रहेको (रणकालिका) किराञ्चोक भगवती मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मन्दिर शक्ति पिठका रुपमा समेत चिनिन्छ ।धार्मिक उद्धेश्यका साथै पिकनिक र घुमघामका लागि रणकालिका मन्दिर आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिर किराँत कालमा स्थापना भएको विश्वास गरिन्छ । रणकालिका मन्दिरमा भाकल गरेमा आंफुले सोचेको मागेको पुरा हुने जनविश्वास रहि आएको छ ।
विसं १२०० मा स्थापना भएको मानिएको यो रणकालिका मन्दिरमा पृथ्वीनारायण शाह नुवाकोट आक्रमणमा पराजित भएपछि किराञ्चोक कालिका माताको आराधना गरी आक्रमणमा जाँदा बाइसे चौबिसे राज्यहरूलाई पराजित गर्दै एकीकरणकर्ता बनेकोले कालिकाबाट यस मन्दिरको नाम रणकालिका रहन गएको जनश्रुती रहि आएको छ ।
पछिल्लो समय यो मन्दिर आन्तरिक पर्यटकको रोजाईको केन्द्र बन्न थालेको छ । शनिबार वा चाडपर्व तथा बिदाका दिनहरूमा यस मन्दिरमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
धार्मिक र एतिहासिक महत्व बोेकेको रणकालिका मन्दीर प्रसिद्ध छ । यो मन्दिरमा वर्षको ६ ओटा तिथिमा मेला लाग्दछ । बाला चतुर्ददशी (बैकुण्ठ चदुर्दशी) दशैको समयमा भव्य पूजा हुने गरेको छ ।
केही बर्ष अघि सम्म रणकालिका मन्दिरमा पुग्न पृथ्वीराजमार्गबाट पैदलै यात्रा गर्नु पर्दथ्यो । अहिले मन्दिर सम्मै मोटर पुग्ने गर्दछ । काठमाण्डौँबाट ५४ किमि सडक यात्रा तय गरेपछि पृथ्वीराजमार्गको मासटारबाट ६ किलोमिटर र सुत्केरीढुंगाबाट १० किलोमिटर दक्षिणतर्फ डाडाँमा रहेको मन्दिर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । बिशेष तिथि र पर्वमा मात्रै होइन मन्दिरमा पुजा गर्न टाढा टाढा देखि दिनहुं मानिसहरु आउने गर्दछन । सडक सञ्जाल विस्तार भएसँगै यातायातको सुविधाका कारण यहाँ घुम्न र मन्दिर दर्शनका लागि आउने पर्यटकको संख्या बढेको हो ।पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यू टावरको निर्माण गरिएपछि एकान्तमा रम्न चाहनेका लागि रणकालिका मन्दिर क्षेत्र गतिलो गन्तव्य बन्न थालेको छ।
पुरातत्व विभागको अगुवाईमा नयाँ शहर आयोजना र स्थानीय गल्छी गाउँपालिकाको समन्वयमा मन्दिरका साथै अन्य पूर्वाधार विकास, सडक सन्जाल, बिद्युत्त लाईन विस्तार भएपछि मन्दिरको संरक्षण र प्रचार प्रसारका लागि मन्दिर संरक्षण समिति सक्रिय भएर लागिरहेको छ । समितिले यहाँ धारा, शौचालय, निःशुल्क इन्टरनेट,मन्दिर परिसरमा सिसिटिभीको निगरानी हुने व्यवस्था मिलाएको रणकालिका मन्दिर संरक्षण समिति अध्यक्ष शंकर बहादुर भण्डारी वताउनुहुन्छ ।
मन्दिरको व्यवस्थापनमा सहयोग पु¥याउन अहिले देश विदेशमा रहेकाहरुले स्वेच्छिक आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेका छन् । बिशेष गरि जन्म दिन मनाउन हुने खर्चलाई बचत गर्दै शुभचिन्तकहरुले रणकालिका मन्दिर संरक्षण समितिको नाममा रकम दान गर्ने अभियाननै सञ्चालन गरेका छन् । एक बर्ष अघि देखि शुरु भएको यो अभियानमा १ सय जना भन्दा धेरैले सहयोग गरिसकेका छन् । यसरी सहयोग दिन चाहनेहरुले मन्दिर समितिको नाममा खोलिएको बैंक खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । देश विदेशमा रहेकाहरुले क्युआर कोड मार्फत पनि रकम पठाउन सकिने व्यवस्था मिलाईएको समितिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । यसरी जम्मा हुने रकमकाृ बिबरण समितिको फेसबुक बाट सार्वजनिक गर्ने गरिएको छ । संकलित रकम बिशेष अबस्थामा समितिको निर्णय गरेर मात्रै खर्च गरिने पनि अध्यक्ष भण्डारीले बताउनु भयो ।
पहिलेको मन्दिर जिर्ण वन्दै गएपछि पुरातत्व विभाग संग समन्वय गरी २०७१ सालदेखि कालिका मन्दिरको पुनः निर्माण सुरु गरिएको थियो । थुम्कामा रहेको पुरानो मन्दिर पुर्ननिर्माण गरी थप व्यवस्थित र सुविधा सम्पन्न वनाईएको छ ।२०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निमांण, अन्य गुरुयोजना अनुरूपका निर्माण गर्ने कार्य गरेको थियो। मन्दिरको पुनर्निमाण र भौतिक पूर्वाधारको विकास गरे संगै धार्मिक तथा सांस्कृतिकसँगै प्राकृतिक र सामाजिक विकास र पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षण बन्दै गएको छ। घना जङ्गलसहितको टापुमा रहेको रणकालिका मन्दिर पर्या पर्यटनका लागि पनि प्रख्यात मानिन्छ ।
मन्दिर परिसरमा निर्माण गरिएको भ्यू टावरबाट धादिङ जिल्लाका विभिन्न स्थानहरुका साथै छिमेकी जिल्ला नुवाकोट, रसुवा र मकवानपुर जिल्लाको भूभागहरु देखिन्छ।साथै नागवेली बनेर अविरल बगिरहेको त्रिशूली नदीको मनोरम दृष्य पनि मन्दिरबाट देख्न सकिन्छ ।
धादिङ जिल्लाका विभिन्न भागका साथै चितवन, गोरखा, तनहुं,कास्की, मकवानपुर, नवलपरासी,नुवाकोट काठमाण्डौं, ललितपुर र देशका अन्य जिल्लाबाट पनि यो मन्दिरमा भाकल पु्रा गर्न भक्तजन आउने गर्दछन ।
परापुर्व कालमा यो मन्दिर स्थापना हुनुमा कुनै बेला यस क्षेत्रमा दुर्जनहरु उत्पन्न भएपछि झगडा भएको र सो क्षेत्रमा भगवतिको आराधना गरी भगवतीले रक्षा गरेको जनश्रुती अनुसार रणकालिका नाम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम बताउनुहन्छ । गौतम मन्दिर क्षेत्रको वासिन्दा समेत हुनुहुन्छ ।
रणकालिका मन्दिर क्षेत्रको उचित प्रचार गर्न सके यस ठाउँमा पर्यटकहरुको आकर्षण अझै बढाउन सकिने मन्दिर समितिका सदस्य शिव वहादुर भण्डारी बताउनुहुन्छ ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका परिचित हुँदै गएको रणकालिका मन्दिर क्षेत्र सम्म १२ महिनानै मोटर चल्ने गरी सडक निर्माण गर्नुपर्ने भएकाले वडा कार्यालयले सरोकारवाला निकायहरु संग समन्वय गरी सहयोग जुटाउन निरन्तर लागिरहेको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राजु अधिकारीले वताउनु भयो ।
मन्दिरको महत्वका बारेमा थप जान्न भिडियो हेर्नुहोस