सिद्धलेकको बागबच्छलामा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

124 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १० फागुन २०८१ ।  जिल्लाको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ५ बाग्बच्छला माविमा  बिशेषज्ञ सेवा सहितको  स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सिद्धलेक गाउँपालिकाको आयोजना तथा लायन्स क्लव अफ काठमाण्डौं भृकुटीको सह आयोजना र मलेखु टिचिङ अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार  स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा बालरोग बिशेषज्ञ डा. मनिष काफ्ले, जनरल फिजिसियन डा. बिबेक भण्डारी,स्त्रीरोग बिशेषज्ञ डा.दिक्षा पौडेल र मुटुरोग बिशेषज्ञ डा. राजन घिमिरे सहितले सेवा दिनुभएको थियो ।  शिविरबाट विभिन्न सात प्रकारका सेवा उपलब्ध गराईएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधीसमेत वितरण गरिएको थियो ।

 वरिष्ठ चिकित्सकहरुको उपस्थितीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले  जानकारी दिनु भयो । स्वास्थ्य शिविरमा ४०० भन्दा बढीले निशुल्क सेवा लिएको र एकदमै प्रभावकारी ढंगले स्वास्थ्य शिविर सम्पन्न भएको दुवाडीले बताउनु भयो ।

स्वास्थ्य शिविरमा ७० जनाको भिडियो एक्सरे, ३० जनाको इसिजी गरिएको थियो । साथै बाल रोग ५० जना, स्त्रीरोग ९० जना ,आङ खस्ने समस्या भएका १० जना, सुगर परिक्षण ३१० जना अन्य जनरल परिक्षण २६० जनाले सेवा लिएको दुवाडीले वताउनु भयो ।

ग्रामीण भेगका मानिसहरु आर्थिक अभाव र विभिन्न कारणबाट उपचारबाट बञ्चित हुनबाट रोक्न आफूहरुले गाउँगाउँमा बिशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले शिविर उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा बताउनु भयो । साथै आगामी दिनमा पनि विभिन्न सरोकारवाला निकाय संग समन्वय र सहकार्य गरी यस्ता निःशुल्क स्वास्थ्य शिविर गाउँ गाउँमा सञ्चालन गर्न लागिपर्ने अध्यक्ष खतिवडाले बताउनु भएको छ ।

‘ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमै उपचार गर्न यसले सहयोग पुग्ने र  आगामी दिन पनि यस्तै शिविर सञ्चालन गरेर निरोगी नेपाल बनाउन सहयोग पु¥याउने लायन्स क्लव अफ काठमाण्डौं भृकुटीको अध्यक्ष पार्वती खतिवडाले  बताउनु भयो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ आईका डिष्ट्रिक गर्भनर विनोद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मलेखु टिचिङ अस्पतालका निर्देशक डा.निराजन कँडेल,लायन्स क्लव अफ काठमाण्डौं भृकुटीका प्रेसिडेण्ट पार्वती खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *