‘वाकिटकी’को अवैध प्रयोग रोक्न कडाई गर्दै सरकार

351 पटक पढिएको

२४ फाल्गुन २०८१, शनिबार ०७:४२ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं, २४ फागुन २०८१ । अनुमति नलिई वाकीटकी सेट प्रयोग गर्नेक्रम बढ्न थालेपछि अबैध प्रयोग रोक्न सरकारले कडाई गर्ने भएको छ ।

अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि सूचना तथा प्रसारण विभागले हालै तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ । वाकिटकीको प्रयोग गर्दा अनुमति लिने प्रक्रिया झन्झटिलो भएकाले अधिकांशले अनुमति नलिई प्रयोग गर्ने गरेको पाईएपछि नियमन गर्न लागिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो । अब वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने छ ।

विभागले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाइसेन्स लिएर मात्र प्रयोग गर्न भनेको छ । अन्यथा लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ ।

वाकी–टकीहरू नेपालमा सुरक्षा, आपतकालीन सेवाहरू र व्यावसायिक उद्देश्यका लागि प्रयोग गरिने सञ्चार उपकरणहरू हुन्।यसको प्रयोगका लागि नेपालमा सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या उल्लेखनिय रुपमा बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि अग्रसरता देखाएको छ ।वाकी–टकीहरू प्रयोग गर्नाका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया बोझिल छ, र अधिकांश मानिसहरूले तिनीहरूलाई अनुमति बिना प्रयोग गर्छन्।

वाकिटकी रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने भएकाले रेडियो यन्त्रहरूको आयात, बिक्री–वितरण, आफूसँग राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्छ । हाल सुरुमा रु दुई हजार बुझाएर वाकिटकी प्रयोग गर्न पाइन्छ भने प्रत्येक वर्ष नवीकरणका लागि रु एक हजार बुझाउनुपर्छ ।

यदि कुनै विदेशी नागरिक वा संस्थाले अस्थायी रूपमा प्रयोग पर्वतारोहण, पदयात्रा, चलचित्र सुटिङ आदिका लागि रेडियो उपकरण प्रयोग गर्छ भने निर्दिष्ट शुल्कको आधा मात्र लाग्नेछ।

 हाल नेपालमा करिब एक हजार कम्पनीले वाकिटकीको प्रयोग र बिक्री वितरण गरिरहेका छन् । सूचना विभागको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म करिब ५०० ले नवीकरण गरेका छन् ।