ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ

275 पटक पढिएको

५ भाद्र २०८२, बिहीबार १५:२५ सम्पादक: धादिङ न्यूज

ललितपुर, ५ भदौं । ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खोटाङ  घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका–१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका–३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

गोदावरी नगरपालिका-१४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको र चालकको साथमा रहेको नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएका थिए ।

सो घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई  ललितपुर महालक्ष्मी नगरपालिका–१ शिवटोलबाट पक्राउ गरेको हो ।

उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।