धादिङको रुवीभ्यालीमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, ७ गम्भीर घाइते
91 पटक पढिएको
धादिङबेसी । धादिङको उत्तरी क्षेत्र रुवीभ्याली गाउँपालिकास्थित बोराङमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
बोराङस्थित मुक्रापदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थराज सुवेदीका अनुसार बोराङको बत्तासे एकादशी जात्रामा गएको बोलेरो गाडी राति करिब १:३० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा मुक्रापदेवी माध्यमिक विद्यालयका विद्यार्थी तथा अभिभावकहरूसमेत परेको प्रधानाध्यापक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
भौगोलिक रूपमा विकट रहेको रुवीभ्याली क्षेत्रमा रातिको समयमा भएको यस दुर्घटनाको विस्तृत विवरण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारमा खटिएको छ ।







