फुर्केखोला पुल बगेको तीन महिनापछि त्रिशूलीमा पन्टुन पुल जडान सुरु, धादिङबासीको सास्ती हट्ने अपेक्षा (भिडियो सहित )

81 पटक पढिएको

७ मंसिर २०८३, आईतवार ०८:३१ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ । भदौ १० गतेको भोटेकोशी बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पक्की पुल बगाएपछि पृथ्वीराजमार्ग र जिल्ला सदरमुकाम धादिङबेसीबीचको सहज सडक सम्पर्क टुटेको तीन महिनाभन्दा बढी समयपछि अस्थायी पुल निर्माण सुरु भएको छ । फुर्केखोला नजिकै गजुरी गाउँपालिका–२ बाबरीघारीबाट सिद्धलेक गाउँपालिका–६ परेवाटार बगर जोड्ने गरी मंसिर ५ गतेदेखि औपचारिक रूपमा पन्टुन पुल जडान थालिएको हो । जडान सुरु भएको एक साताभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित १२ जना प्राविधिक जनशक्ति कार्यस्थलमा खटिएका छन् ।

बर्दिया जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि करिब १३ वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको पन्टुन पुललाई धादिङका स्थानीय तहहरूको संयुक्त पहलमा यहाँ ल्याइएको हो । पुलका संरचना र डब्बाहरूलाई ठूला टेलरमार्फत बर्दियाबाट धादिङ ल्याई आवश्यक मर्मत, रंगरोगन तथा प्राविधिक परीक्षणपछि पुनः प्रयोगमा ल्याउन लागिएको हो ।

फुर्केखोलाको पक्की पुल बगेपछि धादिङबेसीसहित जिल्लाको उत्तरी क्षेत्रका आठ स्थानीय तहको पृथ्वीराजमार्गसँगको सीधा सम्पर्क प्रभावित भएको थियो । सदरमुकाम र राजमार्गबीचको नियमित आवागमन अवरुद्ध हुँदा स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी, बिरामी तथा यात्रुहरूले लामो समयदेखि कष्टकर यात्रा गर्नुपरेको छ ।

पुल बगेपछि यातायात सञ्चालनका लागि गल्छी गाउँपालिकाको मास्टारबाट त्रिशूली नदी पार गरी केउरेनीटार, आदमटार, पिपलटार, गजुरीटार हुँदै परेवाटार निस्कने ग्रामीण सडकलाई मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ । तर, भदौ १० अघिसम्म स्थानीयले मात्र प्रयोग गर्ने उक्त साँघुरो र कच्ची सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि यात्रा निकै कष्टकर बनेको छ । करिब १५ किलोमिटरको दूरी पार गर्न सामान्य अवस्थामा पनि दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । सडकको साँघुरोपन, उकालो–ओरालो, धुलो, हिलो र सवारीसाधनलाई एकअर्कामा साइड दिनुपर्ने अवस्थाले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

यसैगरी, धादिङबेसी–सुनौलाबजार–कोशीखोला–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी निस्कने सडकलाई पनि अर्को वैकल्पिक मार्गका रूपमा चर्चामा ल्याइएको छ । तर, यो सडक हलुका चारपाङ्ग्रे सवारीसाधन र मोटरसाइकलमा मात्र सीमित रहँदा ठूला तथा मालवाहक ट्रक सञ्चालन हुन सकेका छैनन् ।

 पुल बगेलगत्तै तत्काल स्थायी वा अस्थायी विकल्पको माग उठ्दै आए पनि लामो समयसम्म प्रभावकारी काम हुन सकेन । पुल निर्माण र सडक पुनःस्थापनाको जिम्मेवारी तथा स्रोत व्यवस्थापनमा अन्योल कायम रहँदा नागरिकले सास्ती भोग्नुपरेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको भनाइ छ ।

सडक अवरुद्ध हुँदा नारायणगढ तथा तराईका विभिन्न क्षेत्रबाट धादिङबेसी आउने मालवाहक सवारीसाधनले मुग्लिन, आँबुखैरेनी, गोरखा र आरुघाट हुँदै लामो दूरीको घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ । यसले ढुवानी खर्च अत्यधिक बढाउनुका साथै बजारमा दैनिक उपभोग्य वस्तु, मलखाद तथा निर्माण सामग्रीको मूल्य र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पारेको धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं थोक व्यवसायी बोधनाथ दुवाडी बताउनुहुन्छ ।

संघीय तथा प्रदेश सरकारले तत्काल विकल्प दिन नसकेपछि धादिङका १३ वटै स्थानीय तहले साझा पहल अघि बढाएका हुन् । पन्टुन पुल अभियानका संयोजक एवं ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार सिँचाइ विभाग र बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयसँग समन्वय तथा प्राविधिक अध्ययन गरी पुल ल्याइएको हो । पुलको ढुवानी, मर्मत, जडान र सञ्चालनमा लाग्ने खर्च १३ वटै स्थानीय तहले ‘अन्तरपालिका कार्यविधि’ मार्फत लागत साझेदारीमा व्यहोर्ने समझदारी भएको अध्यक्ष दनैले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानीय तहको साझा प्रयासमा अघि बढाइएको यस कार्यले विपद्पछिको संकटमा स्थानीय सरकारबीचको सहकार्य र स्रोतको साझा उपयोगको नमुना प्रस्तुत गरेको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले बताउनुभयो ।

भोटेकोशी बाढीले धादिङमा सडक र पुल मात्र नभई बस्ती, घर, खेतीयोग्य जमिन, खानेपानी, विद्युत् र अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको थियो । राजमार्गसँगको सीधा सम्पर्क टुट्दा स्थानीय उत्पादनको बजार पहुँच, पर्यटन, व्यापार, स्वास्थ्य सेवा र जिल्लाको समग्र आर्थिक तथा प्रशासनिक गतिविधि नै प्रभावित बनेको छ । बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरेको चर्चा सामाजिक सञ्जालमा गरिए पनि फुर्केखोला र घाटबेँसीलगायतका पुल पुनर्निर्माणमा ठोस पहल नभएको सर्वसाधारणको गुनासो छ ।

पन्टुन पुल सञ्चालनमा आएपछि साना तथा हलुका सवारीसाधन, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवा र निश्चित भारवहन क्षमतासम्मका गाडीहरूलाई त्रिशूली वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, पन्टुन पुल अस्थायी समाधान मात्र भएकाले वर्षायाममा नदीको बहाव बढ्दा सञ्चालनमा कठिनाइ आउन सक्छ । त्यसैले दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको विकल्प नरहेको पन्टुन पुलका अभियन्ता एवं पत्रकार पोषनाथ अधिकारी बताउनुहुन्छ । पत्रकार अधिकारीकै विशेष पहल र अग्रसरतामा बर्दियाको पुल धादिङ ल्याउने प्रक्रिया सम्भव भएको हो ।

स्थानीय तहले आफ्नै स्रोत र समन्वयमा अघि सारेको यो प्रयासले तत्कालको संकट टार्ने विश्वास गरिएको छ । अब अस्थायी पुल सञ्चालनसँगै बाढीले क्षतिग्रस्त फुर्केखोलालगायतका पुलहरूको स्थायी पुनर्निर्माण र वैकल्पिक सडकहरूको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धादिङ मण्डली यातायातका व्यवस्थापक सीताराम भट्टको सुझाव छ ।