पर्यटनको नाफा धादिङमै कमाउन व्यवसायीलाई आग्रह

324 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार ०६:३० सम्पादक: धादिङ न्यूज

धादिङ ।धादिङको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्दै व्यवसायीलाई यही जिल्लामा लगानी गर्न र नाफा यतै कमाउन आग्रह गरिएको छ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय एकीकृत पर्यापर्यटन योजना निर्माणसम्बन्धी बैठकमा सहभागीहरूले धादिङलाई पर्यटन व्यवसायको प्रमुख कार्यक्षेत्र बनाउन व्यवसायीलाई आग्रह गरेका हुन्।

बैठकमा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले धादिङमा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै स्थानीय सरकारले पर्यटनमैत्री वातावरण बनाउन सके व्यवसायी यसतर्फ आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो।

जिल्लाको पर्यटन विकास व्यक्तिगत प्रयासले सम्भव नहुने भन्दै उहाँले सरकारका विभिन्न निकाय, स्थानीय तह, निजी क्षेत्र र सञ्चारमाध्यमबीचको साझेदारी आवश्यक रहेकोमा जोड दिनुभयो। आगामी दिनमा पालिका स्तरमै पर्यटन गुरुयोजना बनाएर जिल्लाको एकीकृत पर्यापर्यटन योजना बनाउनुपर्ने सुझाव पनि प्रस्तुत गरियो।

बैठकमा धादिङका गढी, गुम्बा, देवल, स्थानीय संस्कृति–परम्परा, अर्गानिक खाना, पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकतामा राखी योजना निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

बैठकले आगामी दिनमा काठमाडौंमा पर्यटन व्यवसायी र जनप्रतिनिधिको संयुक्त भेला गर्ने, गाउँपालिकाले आफ्ना मुख्य गन्तव्यहरूको सूची तयार गर्ने, एकीकृत सम्भाव्यता अध्ययन गर्ने, र स्थानीय सरकारले तोकेका पर्यटकीय स्थल तथा रुटलाई योजनामा समायोजन गर्ने निर्णय गरेको छ।