अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता

211 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार १३:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा अर्थतन्त्र, लगानी, पर्यटन, शहरी पूर्वाधार, वातावरण लगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा आर्थिक सूचकमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत र संरचनागत सुधार अघि बढाएको बताए । उनले विश्व बैंकले तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपाल सरकारका प्राथमिकतासँग मेल खाने उल्लेख गर्दै संयुक्त रुपमा आयोजना कार्यान्वयन गर्ने इच्छा प्रकट गरे ।

पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी दिँदै यसले निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनामा लगानी मार्ग खुलाउने बताए ।

त्यसैगरी, उपाध्यक्ष जुटले नेपालको आर्थिक सूचकमा सुधार भएको उल्लेख गर्दै लगानी अझै बढाउनुपर्ने धारणा राखे । उनले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिमा सहयोग गर्ने आश्वासन दिए । साथै, वैकल्पिक विकास वित्त सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्न सुझाव दिए ।