दशौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेश बुद्धिचाल छनोट सुरु,निर्णायक सन्दिप घिमिरेसहित धादिङका ५ जना सहभागी

33 पटक पढिएको

७ मंसिर २०८३, आईतवार २०:०० सम्पादक: धादिङ न्यूज

ललितपुर, मंसिर ६ : कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडाको आयोजनामा नखु दोबाटोस्थित जुजु सवाः नेवारी रेस्टुरेन्टको आँगनमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको क्लासिकल स्पर्धातर्फ ९ जिल्लाका ३५ पुरुष र ६ जिल्लाका २० महिला गरी कुल ५५ जना खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन्। छनोट प्रतियोगितामा धादिङ जिल्लाबाट निर्णायक सन्दिप घिमिरे सहित चार जना खेलाडीको सहभागिता रहेको छ। खेलाडीहरूमा ज्वालामुखी गाउँपालिकाबाट तारामान श्रेष्ठ, थाक्रे गाउँपालिकाबाट रामेश्वर मल्ल र सुदिन नेपाल तथा नेत्रावती डबजोङ गाउँपालिकाबाट सुवास लामा गुरुङ रहेका छन्।

प्रदेश खेलकुद विकास परिषद्ले ३२ खेलमध्ये २९ खेलको छनोट पूरा गरिसकेको छ भने बुद्धिचालसहित उसु र एथलेटिक्सको छनोट जारी छ। प्राविधिक संयोजक राजु ताम्राकार तथा सदस्यद्वय ज्ञानेन्द्र खाइजु र मनोज घिमिरे सम्मिलित प्राविधिक टोलीले क्लासिकल (४५ मिनेट ३० सेकेन्ड), र्‍यापिड (१० मिनेट ५ सेकेन्ड) र ब्लिट्ज (३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट) विधाबाट कुल १२ जना खेलाडी छनोट गर्नेछ।

सात चरणमा सञ्चालन हुने क्लासिकल विधाको पहिलो चरणमा शीर्ष खेलाडीहरूले जित निकाल्दै सुखद सुरुवात गरेका छन्। पुरुषतर्फ चितवनका राजु त्रिपाठी र सत्यम शर्मा, ललितपुरका सुरज महर्जन, कमल श्रेष्ठ, रत्न व्यञ्जनकार, अशोक मोहन श्रेष्ठ र सानुभाइ महर्जन विजयी भएका छन्। यस्तै काठमाडौँका सिएम नवीन तण्डुकार, प्रतीक सुवेदी र आशानारायण लवट, दोलखाका राजिव कार्की र कविन्द्र शिवाकोटी, मकवानपुरका सुन्दर कार्की, भक्तपुरका पुरुषोत्तम दुवाल तथा काभ्रेपलाञ्चोकका श्याम मानन्धरले पनि पहिलो चरणमा जित हासिल गरेका छन्।

यसैगरी, महिला विधातर्फ ओजस्वी श्रेष्ठ, लक्ष्मी कँडेल, ग्लोसी श्रेष्ठ, शुभेच्छा घिमिरे, राधिका केसी, राजश्री कुसी, नेलिसा ओझा, मानस्विनी शर्मा र शुभश्री श्रेष्ठले पहिलो चरणमा जित निकाल्दै समान १ अङ्क जोडेका छन्। यशस्वी महर्जन र श्रीयश्री तुलाधरले बराबरी खेल्दै ०.५ अङ्क बनाएका छन्।

पहिलो चरणको समाप्तिसँगै दोस्रो चरणका खेलहरू पनि सुरु भएका छन्। दोस्रो चरणमा सुरज महर्जन र सुन्दर कार्की, अशोक मोहन श्रेष्ठ र कमल श्रेष्ठ, सत्यम शर्मा र पुरुषोत्तम दुवाल, आशानारायण लवट र प्रतीक सुवेदी, कविन्द्र शिवाकोटी र शैलेन्द्र न्यौपाने, सिएम नवीन तण्डुकार र सानुभाइ महर्जन, रत्न व्यञ्जनकार र श्याम मानन्धर तथा राजु त्रिपाठी र राजिव कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र पूर्व अध्यक्ष बिदुरप्रसाद गौतमले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन समारोहमा विश्व बुद्धिचाल महासङ्घ रुल्स कमिसनका पार्षद् उमेश केसीको समेत उपस्थिति थियो। त्यस्तै, गत भदौ १० गतेको भोटेकोशी बाढीमा परिवारजन गुमाएका नुवाकोट जिल्ला बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष प्रकाश जोशीको विशेष उपस्थितिमा दोस्रो चरणको खेल शुभारम्भ गरिएको आयोजकले जनाएको छ।