देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

283 पटक पढिएको

२६ भाद्र २०८२, बिहीबार ०७:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरिपरि र पश्चिमतर्फ सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको छ।

यस क्रममा हाल देशभर सामान्यतया बदली रहँदा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टासम्म यी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।