नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

276 पटक पढिएको

७ आश्विन २०८२, मंगलवार २०:४६ सम्पादक: धादिङ न्यूज

चितवन, ७ असोज ।नारायणगढ–मुग्लिन सडक खण्डको तुईनखोलामा ठूलो पहिरो खसेका कारण आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातार खसेको पहिरो पन्छाउन तत्काल सम्भव नभएकाले जोखिम रहेको सडक प्रयोग नगरी वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय, चितवनले सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, “सडक तत्काल खुल्ने सम्भावना नरहेकाले यात्रामा ननिस्कन र जरुरी भए वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दछौं।”

सडक अवरुद्ध भइरहेका कारण यात्रुहरूले अनावश्यक जोखिम मोलेर यात्रा नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ। रोकिएका यात्रुहरूको सुरक्षाका लागि ट्राफिक प्रहरी, जिल्ला प्रहरी र नेपाल प्रहरीलाई सक्रिय गराईएको पनि चितवन प्रशासनले जानकारी दिएको छ ।

प्रयोग गर्न सकिने वैकल्पिक मार्ग

सडक पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा निम्न वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रशासनले जनाएको छः

  • चितवन जिल्ला : चितवनको जुटपानी,शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने (साना गाडी मात्र)।
  • धादिङ जिल्ला : त्रिभुवन राजपथ  हुँदै नौबिसेबाट मकवानपुर हेटौंडा निस्कने ।
  • मकवानपुर जिल्ला : हेटौंडाबाट भैंसे,भिमफेदी–कुलेखानी–सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ। (हाईस,कार,सुमो,स्कारपियो मात्र पठाउने )
  • मकवानपुर जिल्ला : ( ठूला गाडीका लागि मात्र) : कान्तिलोकपथ, हेटौंडा, ठिंगन हुंदै भट्टेडाँडा, ललितपुरको सातदोवाटो हुँदै उपत्यकामा भित्रिने मात्र
  • चितवन जिल्ला : ( पोखरा, वाग्लुङ पर्वततर्फ जाने ठूला साना सवारीका लागि गाडीका लागि बुटवल हुंदै पोखरा जान मिल्ने)
  • चितवन जिल्ला : सानो गाडी गैंडाकोटबाट भित्र छिरेर पाल्पा, रामपुर भिमाद सम्म दुवै बाटो जान मिल्ने

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यो अस्थायी अवस्था हो, पहिरो पन्छाउने काम भइरहेको छ। सुरक्षित रहन सबैलाई अनुरोध गरिन्छ ।

सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले लेन अनुशासनको पालना गरिदिन पनि प्रशासनले सवारी चालकहरुलाई आग्रह गरेको छ ।

धादिङको वेनिघाटरोराङ गाउँपालिकाको जवाङमा पहिरो खसेर १८ घण्टा सम्म रोकिएका बस तुईनखोला पुगेर फेरी रोकिएपछि यात्रुहरुको बिचल्ली भएको छ ।