दसैँ यात्रुका लागि सडक सहज भएको सडक विभागको दाबी
258 पटक पढिएको
काठमाडौँ । सडक विभागले दसैँका लागि उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूलाई सहज यात्रा हुने जनाएको छ ।
हाल मुलुकका अधिकांश मुख्य राजमार्गमा पहिरो पन्छाउने र मर्मतको काम सकिएको विभागले जनाएको छ । यसअघि पृथ्वी, अरनिकोलगायत राजमार्गमा निरन्तर वर्षा र पहिरोका कारण यात्रुहरू लामो समय सास्ती खेप्न बाध्य भएका थिए । मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा केही यात्रुहरूलाई ४० घण्टासम्म ट्राफिक जाममा बस्नुपरेको थियो ।
विभागका प्रवक्ता प्रभातकुमार झाले “अब ठूलो वर्षा नभए यात्रामा समस्या नआउने” विश्वास व्यक्त गर्दै दसैँ अवधिमा सहज यात्रा हुने दाबी गरे । उनका अनुसार विभागले २४ घण्टा खटिएर पहिरो पन्छाउने काम गरेको हो ।
हाल चार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने एक सय ७१ राजमार्ग एकतर्फी सञ्चालनमा छन् । तर, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँसी–रसुवागढी सडक खण्ड अवरुद्ध छन् । जसका कारण रसुवागढी, स्याउपार्किङ र आसपास क्षेत्रको यातायात ठप्प छ ।
त्यस्तै, चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक (तमोर करिडोर) अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाएपछि अझै अवरुद्ध छ । करिब पाँच वर्षअघि रेमिट हाइड्रोले निर्माण गरेको यो बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो ।
यस्तै,रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा पनि यातायात रोकिएको विभागले जनाएको छ ।








https://shorturl.fm/n8fFP