पार्टी एकता गर्न एकीकृत समाजवादीले बनायो वार्ता समिति, संयोजकमा वेदुराम

381 पटक पढिएको

११ आश्विन २०८२, शनिबार ०७:३० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकताका लागि वार्ता समिति गठन गरेको छ। अध्यक्ष माधवकुमार नेपालले शुक्रबार जारी गरेको ६ पृष्ठ लामो अन्तर पार्टी निर्देशन (अपानी) मार्फत समिति गठन गरिएको हो।

वरिष्ठ नेता वेदुराम भुसालको संयोजकत्वमा बनेको समितिमा प्रवेश हमाल र प्रकाश ज्वाला सदस्य रहेका छन्। उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्ने जिम्मेवारी दिइएको छ।

अपानीमा कुनै दलको स्पष्ट नाम नलिए पनि वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न समिति बनाइएको उल्लेख छ। तर एकीकृत समाजवादीले तय गरेका सैद्धान्तिक आधारहरू माओवादी केन्द्रसँग नजिक रहेको देखिन्छ।

प्रस्तावित आधारमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (…) राख्ने, नेपाली क्रान्ति जनवादी चरण पूरा भई समाजवादी चरणमा प्रवेश गरेको मान्ने, नेपाली जनता र दलाल–नोकरशाही–पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई प्रमुख अन्तर्विरोध ठान्ने उल्लेख छ।

त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने प्रावधानसमेत आधारमा समावेश गरिएको छ।