धादिङ प्रहरीको सक्रियतामा १३३ जना फरार कैदी नियन्त्रणमा

348 पटक पढिएको

११ आश्विन २०८२, शनिबार २१:४३ सम्पादक: धादिङ न्यूज

धादिङ । जेएनजी आन्दोलनको उथलपुथलबीच विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई धादिङ प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ। हालसम्म १३३ जना फरार प्रतिवादी पक्राउ गरी पुनः कारागारमा बुझाइएका छन्।

आन्दोलनकै बहानामा नख्खु, केन्द्रीय, भद्र, भीमफेदीलगायतका जेलबाट कैदीहरू भागेका थिए। तर धादिङ प्रहरीले निरन्तर निगरानी र खोजीमार्फत उनीहरूलाई नियन्त्रणमा लिन सुरु गरेको हो।

धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गर्दै भने, “अपराधी जसले आन्दोलनलाई ढाल बनाएर भागे पनि अब प्रहरीबाट उम्कन सक्दैन।” उनले आपराधिक गतिविधि देखिए तुरुन्तै प्रहरीलाई जानकारी दिन नागरिकलाई पनि आग्रह गरेका छन्।

यसअघि गत साता मुग्लिनमा गएको पहिरोका कारण बिचल्लीमा परेका यात्रुहरूको उद्धारमा पनि एसपी रिजाल अग्रसर बनेका थिए। यात्रुलाई सहजै गन्तव्यतर्फ जान सहयोग पुर्‍याउन उनले आफैं मैदानमा खटिएर व्यवस्थापन गरेका थिए।