दशैंको परम्परागत रौनक हराउँदै
372 पटक पढिएको
धादिङ, – गाउँहरुमा विकास र सुविधासंगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ ।
नेपाली समाजको पहिचान बनेको घरहरु लोप हुने अबस्था २०७२ सालमा गएको भुकम्पले ल्याएको हो । भुकम्पले देशको धेरै ठाउँमा घरहरु भत्किएपछि नयाँ बनाईएका घरहरु सिमेण्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसीमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको छ ।
एक समय थियो, दशै भित्रदै गर्दा रातो माटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाँउका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ्ग र स्थानिय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ्ग लगाइन्थ्यो, अनि गाँउ भरीका सबै भेला भएर रमाउने गरिन्थ्यो । तर,अहिले यी सबै चलनहरु हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीय बृद्धबृद्धाहरुको भनाइ रहेको छ ।
गाउँमा दशैंको आगमनसँगै घरघरमा रातोमाटाले लिपपोत गरेर देखिने सौन्दर्य र सांस्कृतिक रौनक अब भने हराउँदै गएको छ। पहिलेदेखि दशैं आउँदैछ भन्ने संकेत नै गाउँका बारी, आँगन र घरमा देखिने तयारी हुन्थ्यो। तर आधुनिक जीवनशैली र बसाइँसराइले गर्दा गाउँका युवाहरू रोजगारी र पढाइको सिलसिलामा बाहिरिने क्रम बढेसँगै गाउँको चहलपहल र सांस्कृतिक परिचय फिका बन्दै गएको छ।
पहिला गाउँघरमा सडक, सामुदायिक निर्माण, ढुङ्गा–माटो र रातोमाटाले बनेका घरहरू भेटिन्थे। तर आजकल आधुनिक शैलीका जस्तापाता र सिमेन्टका घरले ठाउँ लिँदैछन्। यसले परम्परागत रौनक मात्र होइन, गाउँको पहिचानसमेत हराउँदै गएको छ।दशैंजस्तो चाडमा रमाइलो र भेटघाट गर्ने परम्परा पनि खुम्चिँदै गएको छ।
युवाशक्ति बाहिरिएसँगै गाउँमा कृषि उत्पादन घट्दै गएको र वैदेशिक रोजगारी बढेसँगै गाउँको अर्थतन्त्र र सामाजिक जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। ग्रामीण क्षेत्रमा उत्पादनको कमी र सहरतर्फ आकर्षणले गर्दा गाउँ खाली हुँदै गएपनि गाउँमा वृद्धवृद्धा मात्र भएको कारण चाडपर्वको जमघट र उल्लासमा कमी आएको हो।
पहिला युवायुवतीले दशैंमा पिङ खेल्दै, समूहमा भेटघाट गर्दै रमाइलो गर्ने चलन थियो। तर आज ती दृश्य हराउँदै गएका छन्। चाडपर्वमा देखिने जमघट, पिङको रमाइलो र गाउँभर फैलिने हर्षोल्लास अब दन्त्यकथा जस्तै लाग्न थालिसकेको छ ।
आधुनिकताको प्रभाव, रोजगारी र बसाइँसराइका कारण गाउँ रित्तिँदै गएका छन् भने दशैंको परम्परागत रौनक पनि क्रमशः हराउँदै गएको छ। गाउँको सांस्कृतिक परिचय जोगाउन स्थानीयस्तरमै सचेतना र प्रयास आवश्यक देखिएको छ।








https://shorturl.fm/h6VAy
https://shorturl.fm/UJbox
https://shorturl.fm/8juVn
https://shorturl.fm/XtyfD