अष्टमीदेखि दशमीसम्म कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
282 पटक पढिएको
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अष्टमीदेखि दशमीसम्म वर्षाको सम्भावना रहने विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। विभागका अनुसार हाल मनसुन वायु केही कमजोर भए पनि नेपालबाट पूर्ण रूपमा बाहिरिन सकेको छैन। सरदरमा अक्टोबर २ तारिखतिर मनसुन समाप्त हुने भए पनि प्रत्येक वर्ष सो मिति फरक हुने बताइएको छ।
अष्टमी (असोज १४)का दिन बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

नवमी (असोज १५) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा हुने देखिएको छ।

विजया दशमी (असोज १६) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा, साथै कोशी प्रदेशका पहाडी तथा तराई भू-भागमा वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
दशैं अवधिभर मनसुनको प्रभाव रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर यात्रा वा अन्य गतिविधिमा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।







