धादिङको जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
517 पटक पढिएको
धादिङ, १८असोज ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोला नजिक पृथ्वी राजमार्गमा शुक्रबार बिहान पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
शुक्रबार बिहान अन्दाजी २:३० बजेतिर सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। खबर प्राप्त भएपछि जोगिमारा प्रहरी चौकीका प्रहरी हवल्दार पदम राना मगरको नेतृत्वमा ट्राफिक सहितको प्रहरी टोली घटनास्थलमा खटिएको हो।
प्रहरी र यात्रुको सहयोगमा बिहान २:४० बजेतिर सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। तर बिहान ५:५५ बजेतिर पुनः पहिरो खस्दा राजमार्ग दुईतर्फी बन्द भएको प्रहरीले जनाएको छ।
हाल बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।







