आज रातिदेखि अर्को मनसुनी प्रणाली सक्रिय, थप वर्षाको सम्भावना

405 पटक पढिएको

१८ आश्विन २०८२, शनिबार १९:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १८असोज ।बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले आज रातिदेखि देशभर फेरि अर्को मनसुनी प्रणाली सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका धेरै भागमा थप वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातार मुसलधारे वर्षा भइरहेको छ। हाल मधेश प्रदेशमा अत्यधिक वर्षा भइरहेको छ भने पर्सा, सर्लाही, रौतहट, धनुषा र महोत्तरीमा ठूलो पानी परेको छ।

यस्तै, धनकुटा, खोटाङ, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाडौँ, चितवन र जाजरकोटमा मध्यमदेखि ठूलो वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा १४४ मिलिमिटर रेकर्ड गरिएको छ। बारामा १४०.४ मिलिमिटर, रौतहटको गौरमा १२९ मिलिमिटर र महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।

महाशाखाले बारा र पर्सालाई हाल ठूलो वर्षा प्रभावित क्षेत्रका रूपमा पहिचान गरेको छ।
मुख्यगरी देशको मध्य भू–भागमा बढी वर्षा भएको र नवलपरासीपूर्वदेखि धनकुटासम्म लगातार वर्षा भइरहेको छ।

यो अवधिमा सिन्धुपाल्चोक, दोलखा र काठमाडौँ उपत्यकासहित १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको उल्लेख छ। साथै, ५० भन्दा बढी वर्षा मापन केन्द्रहरूमा ३० देखि ५० मिलिमिटर वर्षा रेकर्ड गरिएको महाशाखाले जनाएको छ।