जेन्जी आन्दोलनका भाइरल धादिङका ‘जिरे’ले गरे आमाको हत्या
891 पटक पढिएको
धादिङ,२० असोेज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आमाको हत्या गरेका छन्। स्थानीय ५५ वर्षीया राममाया कँडेल लाई उनका छोरा ३० वर्षीय यमबहादुरले हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार साँझ करिब साढे आठ बजे आमालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए।
हत्या गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको छ। जसलाई स्थानीयले “जिरे” भनेर चिन्ने गर्छन्
जिल्ला प्रहरीका अनुसार, घटनाको थप अनुसन्धान भइरहेको छ र यमबहादुर कँडेलविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ।
यो घटनाले त्रिपुरासुन्दरी गाउँपालिका र वरिपरिका समुदायमा ठूलो स्तब्धता सिर्जना गरेको छ। राममायाको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल ल्याईएको छ ।
आमाको हत्या गरेको अभियोगमा पक्राउ गरेका यमबहादुर गएको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र कृयाकलापबाट सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए ।
यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।
- तस्बिर : अनुप सिटौलाको फेसबुकबाट







