“हरेक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउन खोज्छ” एमाले नेता बिष्णु रिजाल

295 पटक पढिएको

२० आश्विन २०८२, सोमबार २०:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं-नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले मुलुक फेरि एकपटक प्रतिक्रान्तिको लहर सामना गरिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, “हरेक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउन खोज्छ।”

उनका अनुसार, २००७ सालको जनक्रान्तिपछि २०१७ सालमा राजा महेन्द्रको सैनिक ‘कु’, र २०४६ सालको आन्दोलनपछि २०६१ सालमा राजा ज्ञानेन्द्रको निरंकुश कदम मुलुकले भोगिसकेको छ।

रिजालका भनाइमा, अहिले पनि २०६२/६३ सालको जनआन्दोलनका उपलब्धि विरुद्धमा प्रतिक्रान्तिकारी शक्तिहरू सक्रिय भएका छन्।

“यस्ता प्रतिक्रान्तिको आयु क्षणभंगुर मात्र हुँदैन,” उनले भनेका छन्, “तर यस्ता घटनाले क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउने, नकारात्मक रूपमा भए पनि, योगदान गर्छन्।”

उनले राजनीतिक दलहरूलाई आह्वान गर्दै भनेका छन् “अब राजनीतिक दलहरूले निर्ममतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ। आफ्ना कमजोरी हटाउँदै, सत्ताको धूलो टक्टक्याउँदै, नेपालको स्वाभिमान, राष्ट्रियता र लोकतन्त्रको झण्डा दह्रोसाथ समातेर फेरि उठ्ने बेला हो।”

रिजालका अनुसार, हालको परिस्थिति नेपाली राजनीति र लोकतन्त्रका लागि पुनः जागरणको अवसर हो, जसले क्रान्तिलाई पूर्णताको नयाँ उचाइँमा पुर्‍याउनेछ।