परम्परागत भजन नृत्य सहित मलेखुको खैंजेडी भजन समूहको देउसी भैलो

304 पटक पढिएको

४ कार्तिक २०८२, मंगलवार ०९:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।नेपालको मौलिक भजन संस्कृति र तिहार पर्वको आध्यात्मिक स्वरूप जगेर्ना गर्ने उद्देश्यसहित  धादिङको गजुरी–२, मलेखुमा रहेको भद्रकाली खैंजडी  भजन टोलीले यस वर्षको लक्ष्मीपूजाको दिन राजधानीमा परम्परागत भजन नृत्य सहित देउसी भैलो प्रस्तुत गरेको छ।

भजन–नृत्यका माध्यमबाट पुरानो सांस्कृतिक भावनाको पुनर्जीवन र युवा पुस्तालाई परम्पराको चेतना जगाउने प्रयासका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

भजन टोलीले धादिङे लोकधुन, खैंजडी ताल र नृत्यको संगममार्फत धार्मिक–सांस्कृतिक एकता र नेपाली पहिचानको सुन्दर झल्को प्रस्तुत गरेको साहित्य लोक संस्कृतिको जगेर्नाको लागि अनुसन्धान तथा कृति प्रकाशनमा लाग्नु भएका प्रा.डा. सदानन्द कँडेलले वताउनु भयो ।

कँडेल भन्नुहुन्छ, “ २०३०-०४० को दशकमा राजनैतिक-सामाजिक चेतनाकरणको लागि आयोजित सास्कृतिक कार्यक्रमहरूमा आफैले सन्देशमूलक भजन लेखेर नृत्य/अभिनय गराएको याद बल्झिन्छ मेरो दिल-दिमागमा । नेपालको यो मौलिक संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने लाग्छ मलाई । नेपालको मौलिक संस्कृति केवल स्मृतिमा सीमित हुन नदिन, यसलाई जगेर्ना गर्दै नयाँ पुस्तामा प्रवाह गर्नुपर्छ भजन समूहको यो  जमर्को सराहनीय छ ।”

सोमबार लक्ष्मीपूजाको दिनबाट शुरु भएको यो कार्यक्रम राजधानीबाट धादिङको मलेखुमा पनि कायम रहने निश्चल सिलावलले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
देउसी भैलो कार्यक्रमबाट संकलित रकम पितृ उद्धार तथा १०८ अखण्ड हरिकिर्तन महायज्ञका लागि अक्षयकोष स्थापना गरि जम्मा गरिने सिलवालले वताउनु भयो ।