कुनै पनि दलसँग एकता टुंगो लागिसकेको छैन-प्रचण्डको सचिवालय

231 पटक पढिएको

८ कार्तिक २०८२, शनिबार ०७:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एकीकृत समाजवादीसँगको एकताको विषयमा टुंगो नलगाएको स्पष्ट गरेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकता हुने तयारी अन्तिम चरणमा पुगेकोे, पार्टीको नाम, मार्गदर्शक सिद्धान्तमा समेत सहमती भएको बिषयले शुक्रवार दिनभर सञ्चारमाध्यममा उच्च प्राथमिकता पाएको थियो ।

माओवादी केन्द्रले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुङ्गो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौँ ।”

सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताबमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको जनाएको छ ।

सचिवालयले भनेको छ, “यद्यपि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागिसकेको छैन, विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।”

माओवादीले बिज्ञप्ति निकालेर कुनै पार्टी संग एकताको टुंगो नलागेको दावी गरेपनि  निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको अन्तिम मिति कात्तिक ३० गते अगावै एकता सम्बन्धमा टुङ्गो लगाउनेगरि प्रक्रिया अगाडि बढेको उनीहरूको तयारी देखिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकता हुने बिषयमा समाजवादीका बरिष्ठ नेता झलनाथ खनलाले असहमती राख्दै आएका छन् ।