मनाङमा हिमपात : तिलिचो बेसक्याम्पमा ५०० भन्दा बढी पर्यटक अड्किए
698 पटक पढिएको
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । हिमपातका कारण थोराङलापास, बेसक्याम्प, याकखर्च र तिलिचो क्षेत्रमा आवतजावत कठिन भएको छ । तिलिचो बेसक्याम्पमा सयौँ पर्यटक अलपत्र परेका छन् । तिलिचो बेसक्याम्प अहिले ५०० भन्दा बढी पर्यटक अड्किएका छन् ।
हिमपात सोमबार रातिदेखि सुरु भएको हो । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको कासाथै जिल्लाभर निरन्तर हिमपात भइरहेको छ ।
तिलिचो ताल घुम्नका लागि धादिङबाट गएको अशोककुमार बस्नेत सहितको टोली पनि यति बेला तिलिचो वेस क्याम्पमा रोकिएको छ । मंगलबार विहानै वेश क्याम्पबाट माथि जाने योजना भएपनि लगातारको हिमपातका कारण अब तिलिचो जाने सम्भावना नरहेकोले आंफुहरु फर्कने तयारीमा रहेपनि आज त्यो सम्भावना पनि नभएको बस्नेतले धादिङ न्यूजसंगको कुराकानीमा बताउनु भयो ।हिमपातले यात्रा रोकिएपछि पर्यटकहरु हिउँसंग खेल्दै रमाईरहेको भिडियो, फोटो पोष्ट गरिरहेका छन ।
ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार मनाङको अधिकांश भूभागमा हिमपात पछि “चिसो निकै बढेको छ, अहिले तिलिचो र वरिपरिका क्षेत्रमा भारी हिमपात भइरहेको छ,” घलेले जानकारी दिनु भयो ।
धादिङ न्यूज संग कुराकानी गर्दै पदयात्रामा रहेका आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित ठाउँमा बसिदिन र जोखिम नलिन अध्यक्ष घलेले आग्रह गर्नुभएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लगातार हिमपातका कारण उच्च क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ ।
“हिमपात बढ्न सक्ने भएकाले स्थानीय र पर्यटक सबैलाई घरभित्रै वा सुरक्षित होटल क्षेत्रमा बस्न अनुरोध गरिएको छ,” प्रजिअ पौड्यालले बताउनु भयो ।
मनाङ जिल्ला प्रशासन कार्यालयले हाल भइरहेको लगातार वर्षा र हिमपातका कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय प्रशासनले सम्भावित उद्धार कार्यका लागि तयारी बढाएको जनाएको छ । जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार मनाङमा अक्टोबर २४ देखि २७ (कात्तिक १० देखि १२) सम्म भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन प्रशासनले चेतावनी जारी गरेको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी पौड्यालले जारी गरेको सूचनामा मनाङका थोराङलापास, तिलिचो, याकखर्च, कास्स्याङ, नारफु लगायतका हिमाली भूभागमा पदयात्रा गर्ने र हिमाल आरोहणका गतिविधिमा संलग्न रहँदा अत्यधिक सावधानी अपनाउन भनिएको छ ।
सूचनामा भनिएको छ – “सम्भावित जोखिमलाई मध्यनजर गर्दै पदयात्रा र आरोहण कार्य स्थगन गर्न, सुरक्षित स्थानमा रहन, न्यानो कपडा लगाउन र स्वास्थ्य सुरक्षामा ध्यान दिन अनुरोध गरिन्छ।”
प्रशासनले मनाङमा रहेका पर्यटक, स्थानीयवासी, होटल व्यवसायी तथा ट्रेकिङ कम्पनीहरूलाई हिमपात र चिसोबाट हुने सम्भावित जोखिम न्यून पार्न आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
यस्तै कुनै विपद् वा आकस्मिक अवस्थाको जानकारीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ —
* नेपाली सेना: ९८६९०२२९७१ / ९८६९०२१९५१
* नेपाल प्रहरी: १०० / ९८६९०२९९९९
* सशस्त्र प्रहरी बल: ९८६९०२५२१९
जिल्ला प्रशासनले थपिएको हिमपातको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय र पर्यटक सम्बन्धी संस्थाहरूसँग समन्वय गरेर उद्धार तयारी बढाएको जनाएको छ ।









https://shorturl.fm/5zEiQ
https://shorturl.fm/6eqUb