धादिङका ९ सहित १५ जना आन्तरिक पर्यटक तिलिचो बेसक्याम्पमै रोकिए
341 पटक पढिएको
धादिङ- मनाङस्थित तिलिचो बेसक्याम्पमा अत्यधिक हिमपातका कारण धादिङका नौसहित १५ जना आन्तरिक पर्यटक रोकिएका छन्।
धादिङ नीलकण्ठ नगरपालिकाका १० वर्षीय बालकसहित नौ जना, दुई जना चिनियाँ नागरिक र अन्य चार जना नेपाली बेसक्याम्पमै अड्किएका हुन्।
रोकिएका मध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिए।
उनका अनुसार निरन्तर हिमपातका कारण बाटो अवरुद्ध हुँदा सबैजना बेसक्याम्पमै रोकिएका छन् तर हाल सबैजना सुरक्षित छन्।
धादिङ गंगाजमुना गाउँपालिका–५ का रेशु अधिकारीले आफ्ना परिवार र साथीसहित सोमबार साँझ तिलिचो ताल पुगेर फर्किने क्रममा हिमपात सुरु भएपछि बेसक्याम्पमै रोकिएको बताए। ‘सानो बच्चा र बाक्लो हिउँका कारण तल झर्न सकिएको छैन,’ उनले भने।
रोकिएकामध्ये धादिङ गंगाजमुना–५ का रेशु अधिकारी (३९), पार्वती भण्डारी अधिकारी (३४) र आरोन अधिकारी (१०), नीलकण्ठ–३ का अशोककुमार बस्नेत (४४), शिरीषा बस्नेत (४०), इवराज थापा क्षेत्री (४०), इन्द्रकुमारी थापा (३९), नविना थापा (२१) र नवीन थापा (१८) रहेका छन्।
त्यस्तै पर्सा वीरगन्जका रिजन मानन्धर (२३) र चितवन भरतपुरका सिजन मैनाली (२३) पनि उनीहरूसँगै छन्। रिजनको खुट्टामा समस्या देखिएपछि उनी तल फर्किन नसकेका र सिजन साथमै बसेका अधिकारीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार स्थानीय होटल व्यवसायीहरूसँग समन्वय गरी सबैलाई सुरक्षित स्थानमा राखिएको छ।
‘मौसम खुल्नेबित्तिकै उनीहरू फर्किन सहज हुनेछन्,’ पौड्यालले भने, ‘अवस्था असहज भएमा उद्धार कार्य सुरु गरिनेछ।’
बुधबार विहानै देखि घाम लागेपछि ठाउँ ठाउँमा हिउँ खसेर पदमार्गमा अवरोध आउन थालेपछि थप जोखिम हुने डरले आंफुहरु वेस क्याम्पमै रोकिनु परेको धादिङबेसीका अशोक कुमार बस्नेतले वताए । अत्याधिक चिसोका कारण सञ्चार सम्पर्क पनि टुटेको बस्नेतले जानकारी दिए । विहीबार मौसममा सुधार देखिए आंफुहरु बेस क्याम्पबाट निस्कने तायरीमा रहेको पनि बस्नेतले वताएका छन् ।
तिलिचो बेसक्याम्पबाट सहयोगको लागि अपिल
यसै बिच बुधबार बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका थिए । हामी धादिङका नौ जना आन्तरिक पर्यटकहरू (जसमध्ये एक ९ वर्षका बालक समेत) र अन्य केही नेपाली तथा विदेशी पर्यटकहरू हाल मनाङस्थित तिलिचो बेसक्याम्पमा अड्किएका छौं।
हाल हामी होटल तिलिचो बेसक्याम्प इन मा रहेका छौं।
यहाँ बिजुली, टेलिफोन र इन्टरनेट सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।
हिमपात अत्यधिक भएकोले आसपासका डाँडाबाट हिउँ खसिरहेको र ८–१० घण्टाको पैदल यात्रामध्ये करिब ३ घण्टा लामो बाटो पहिरोको उच्च जोखिममा रहेको कारण हामी तल झर्न डराएका छौं।
हाल हामी उचित मौसमी सुधारको पर्खाइमा छौं।
तर यदि भोलिसम्म पनि मौसम सुधार नभएमा, हामी नेपाल सरकार, नेपाल पर्यटन बोर्ड , ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल तथा अन्य सम्बन्धित निकायहरूलाई उद्धार तथा आवश्यक सहयोगका लागि अनुरोध गर्दछौं।
हाम्रो अवस्था अहिले सुरक्षित छ तर जोखिमपूर्ण क्षेत्रमा रहेकोहुँदा शीघ्र ध्यानाकर्षण गरिदिनुहुन सम्बन्धित निकायहरूलाई अनुरोध गर्दछौं।









https://shorturl.fm/5dUmW