मोन्था चक्रवात कमजोर हुँदै, काठमाडौं सुरक्षित क्षेत्रभित्र

327 पटक पढिएको

१४ कार्तिक २०८२, शुक्रबार ०६:४८ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं, १४ कात्तिक – अरब सागरमा बनेको मोन्था चक्रवात हाल नेपालका केही पूर्वी भागमा मात्र सक्रिय रहेको मौसमविद्हरूले बताएका छन्। पछिल्ला ट्र्याकिङ डेटा अनुसार काठमाडौं उपत्यका सुरक्षित घेरा भित्र छ भने देशका पश्चिमी भागमा यसको प्रभाव घट्दै गएको छ।

जलवायु बिज्ञ डा.धर्मराज उप्रेतीका अनुसार चक्रवातको बाहिरी घेरा कमजोर बन्दै जाँदा काठमाडौंमा आज साँझसम्म मौसम सफा हुने सम्भावना बलियो देखिएको छ। पछिल्ला २४ घण्टादेखि उपत्यकामा हल्का बदली र छिटपुट वर्षा भए पनि अहिले मौसम सुधारोन्मुख रहेको छ।

मोन्था चक्रवातको मुख्य केन्द्र अहिले भारतको बिहार हुँदै पश्चिम बङ्गाल र सिक्किमतर्फ सर्दैछ। यसको बाहिरी प्रभाव भने नेपालका पूर्वी भागमा देखिन थालेको छ। उप्रेतीका अनुसार भारतमा जस्तो ठूलो जोखिम नेपालमा हुने सम्भावना छैन। तर, कोशी प्रदेशका केही भागमा वर्षा र जोखिम कायम रहेको छ।

कोशी र मधेस प्रदेशका विभिन्न क्षेत्रमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ । विराटनगर-इटहरी क्षेत्रमा पछिल्लो १ घण्टामा ४० मिमि, पछिल्लो ३ घण्टामा ९०.४ मिमि र पछिल्लो ६ घण्टामा १२५ मिमि वर्षा रेकर्ड गरिएको छ।

मधेस प्रदेशको बरमझिया क्षेत्रमा पनि पछिल्लो १ घण्टामा २१.८ मिमि वर्षा भएको छ।

विशेषज्ञहरूका अनुसार वर्षाले धान बालिमा केही असर पुर्‍याए पनि ठूलो डुबान वा बाढीको जोखिम भने न्यून रहने सम्भावना छ। आज साँझसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

पश्चिमी नेपालतर्फ भने वर्षा क्रमशः घट्दै गएको छ र मौसम सामान्य अवस्थामा फर्कँदै गएको छ।

जल तथा मौसम विज्ञान विभागले सबै नागरिकलाई अद्यावधिक मौसम सूचना र चेतावनीलाई आधार मानेर कार्य गर्न आग्रह गरेको छ।
विशेषगरी कोशी र मधेस प्रदेशका केही भागमा अझै पनि वर्षा र हावाहुरीको प्रभाव रहन सक्ने जनाइएको छ।

विश्वभर सक्रिय समुद्री चक्रवातहरूको सूचीमा अहिले “मेलिसा ” नामक चक्रवात मात्र बाँकी रहेको छ, जुन अमेरिका र युरोप बीचको महासागर क्षेत्रमा सक्रिय छ।
मोन्था चक्रवातलाई भने सक्रिय सूचीबाट हटाइएको छ, जसले यसको क्षीण अवस्था पुष्टि गर्छ।