तीन कम्युनिस्ट नेताको ‘नयाँ राजनीतिक ध्रुवीकरण’ संकेत
239 पटक पढिएको
काठमाडौँ – प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्मा, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ राजनीतिक यात्राको सुरुआत गर्ने घोषणा गरेका छन्।
संयुक्त हस्ताक्षरयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले मुलुकमा सिर्जना भएको राजनीतिक अविश्वास, जनआकांक्षा निराशा र दीर्घकालीन बेमेल चिर्नैकालागि एकीकृत पहल अपरिहार्य भएको बताएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ —
“राष्ट्रिय निराशा र गतिरोध चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा जनताको ऊर्जा केन्द्रित गर्नु आजको प्रमुख कार्यभार हो।”
तीन नेताले देशमा आएको राजनीतिक, आर्थिक र सामाजिक संकट समाधानका लागि प्रगतिशील, कम्युनिस्ट, समाजवादी र देशभक्त शक्तिहरूबीच वृहत् संवाद र सहकार्य-सञ्जाल निर्माण गर्न आह्वान गरेका छन्।
त्यसै क्रममा उनीहरूले राजनीतिक ध्रुव विभाजनले जनतामा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै अगाडि थप लेखेका छन्- “हामी ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध रूपमा अघि बढ्न प्रतिबद्ध छौँ। सबै प्रतिबद्ध शक्तिहरूबीच सार्थक छलफल र सहकार्य अबको निर्णायक आवश्यकता हो।”
यस घोषणालाई देशको बाम धरातलमा नयाँ मोर्चा निर्माणतर्फको संकेतका रूपमा पनि हेरिएको छ।







