घनश्याम भुसाल निकट नेताहरूले गरे नयाँ दल दर्ता ‘नेकपा (वामपन्थी केन्द्र)’.चुनाव चिह्न सूर्यमुखी फूल
287 पटक पढिएको
काठमाडौँ । दश दल एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा समावेश नभएका पूर्व नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल निकट नेताहरूले नयाँ राजनीतिक दल दर्ता गराएका छन्। आइतबार उनीहरू निर्वाचन आयोग पुगेर ‘नेकपा (वामपन्थी केन्द्र)’ नाममा दल दर्ता गरेका छन्।
नयाँ दलको संयोजकमा राजकुमार कक्षपति र सह–संयोजकमा नन्दलाल बञ्जाडे चयन गरिएको आयोगमा बुझाइएको दस्तावेजमा उल्लेख छ।
नयाँ दल ‘नेकपा (वामपन्थी केन्द्र)’ दर्ताका लागि आयोगमा बुझाईएको आवेदनमा पार्टीको केन्द्रिय सदस्यहरुमा मिरा श्रेष्ठ (रुपन्देही),लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुनकुमार अधिकारी (दाङ),विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेमबहादुर तारामी (सुर्खेत),ठगेन्द्रबहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी),रेशा दुलाल (ललितपुर),सविता तामाङ (काठमाडौँ), लक्ष्मी देवी शर्मा (रुपन्देही), भिम बस्नेत (मोरङ) रहेका छन् ।
त्यसैगरी- सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्युठान),नरेशप्रसाद न्यौपाने (अछाम),प्रकाश श्रेष्ठ (धादिङ),लोककृष्ण दाहाल (भक्तपुर),समीर गौतम (गुल्मी), नविनकुमार कक्षपति (प्यूठान) र एन्जिसराज प्रसाईं (काठमाडौँ) रहेका छन् ।
आयोगमा बुझाइएको आधिकारिक कागजमा घनश्याम भुसाल लगायत एकीकृत समाजवादीका अन्य चिनिएका नेताहरूको नाम भने राखिएको छैन। तर, दर्ताको पहल भुसाल निकट समूहले गरेको बताइएको छ।
दश दल एकताका क्रममा भुसालले नयाँ संरचना र कार्यशैलीप्रति असन्तुष्ट जनाएका थिए। पछि उनी निकट नेताहरूले अलग राजनीतिक प्लेटफर्म आवश्यक रहेको भन्दै नयाँ दल दर्ता प्रक्रिया अघि बढाएको हो ।
पूर्व नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य डा. विजयकुमार पौडेलसहितको टोली आइतबार आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । दल दर्ताका लागि आयोगमा पेश गरिएको निवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) रहेको छ भने चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।







