आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमसहित विश्वभर मनाइँदै

257 पटक पढिएको

२४ मंसिर २०८२, बुधबार ०६:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १० का दिन मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि यो दिवस मनाइने गरिन्छ।

यस वर्षको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु ‘हाम्रा दैनिक आवश्यकताहरू’ निर्धारण गरिएको छ। यस विषयवस्तुमा मानव अधिकारका आधारभूत मूल्यहरूमाथि पुनः जोड दिँदै मानिसहरूलाई हरेक दिनका क्रियाकलाप तथा आवश्यकतामा मानव अधिकार कसरी जोडिएको छ भन्नेबारे सचेत बनाउने उद्देश्य राखिएको छ।

संयुक्त राष्ट्रसंघले १० डिसेम्बर १९४८ मा सार्वभौमिक मानव अधिकार घोषणापत्र जारी गरे पनि, आधिकारिक रूपमा भने सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको रेज्योलुसन ४२३  (भी) मार्फत विश्वका सबै राष्ट्र र सम्बन्धित संस्थाहरूलाई डिसेम्बर १०लाई मानव अधिकार दिवसका रूपमा मनाउन आग्रह गरिएको थियो।

विश्वमै सर्वाधिक अनुवाद भएका दस्तावेजमध्ये एक मानिने मानव अधिकारको सार्वभौमिक घोषणा आजका दिन ५०० भन्दा बढी भाषामा उपलब्ध छ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र, मानव अधिकारवादीहरू, सामाजिक अभियन्ता, विद्यार्थी तथा समुदायले देशव्यापी सचेतना कार्यक्रम, र्‍याली, छलफल र प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेका छन्।