एमाले ११औँ महाधिवेशनः आज मतदान, अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने

452 पटक पढिएको

१ पुष २०८२, मंगलवार ०८:२५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। सर्वसम्मतको वातावरण नबनेपछि मतदानमार्फत नेतृत्व चयन गर्न लागिएको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै निर्वाचनसम्बन्धी प्राविधिक तयारीमा समय लागेकाले मतदान अपरान्ह ४ बजेपछि मात्रै शुरु हुनेछ। सुरुमा दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि सबै उम्मेदवारको नाम डिजिटल प्रणालीमा कोडिङ गर्न समय लाग्ने भएपछि मतदानको समय सारिएको हो।

भृकुटीमण्डपमै हुने निर्वाचनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ। अध्यक्षमा सहमति नजुटेपछि अन्य पदहरूमा पनि दुवै पक्षका तर्फबाट उम्मेदवारी परेको छ।

एमालेले यसपटक विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ। निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिनबाट मतदानको व्यवस्था गरिएको छ। महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्ने छन्।

प्रत्येक मतदाताले मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।