धादिङ-१ मा ‘हेभिवेट’ लाई युवा पुस्ता र नयाँ शक्तिको कडा चुनौती
372 पटक पढिएको
केशव अधिकारी, धादिङ
आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा धादिङ क्षेत्र नम्बर १ को चुनावी मैदान यसपटक केवल एउटा निर्वाचन क्षेत्रको परिणाममा मात्र सीमित छैन; बरु यसले नेपाली राजनीतिको एउटा सिंगो पुस्ता र प्रवृत्तिको अग्नि-परीक्षा गर्ने देखिएको छ। देशभर राजनीतिक पुस्तान्तरणको बहसले राँको बालेका बेला धादिङको यो पहाडी भूगोलमा ‘हेभिवेट’ कम्युनिष्ट नेता राजेन्द्र प्रसाद पाण्डेको उम्मेदवारीलाई लिएर चियापसलदेखि चौतारीसम्म निकै तातो र रोचक चर्चा सुरु भएको छ। वि.सं. २०४३ सालदेखि निरन्तर सत्ता र शक्तिको केन्द्रमा रहँदै आएका पाण्डेका लागि यसपटकको चुनावी चक्रव्यूह अघिल्ला निर्वाचनहरू जस्तो सहज र सुनिश्चित देखिएको छैन।
यस क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी कुल २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। पाण्डेको राजनीतिक यात्रा आफैँमा एउटा जीवित इतिहास हो। पञ्चायत कालमा जनपक्षीय उम्मेदवार बनेर पराजित भएका पाण्डेले त्यसयता संसदीय राजनीतिका हरेक दाउपेचलाई सफलतापूर्वक प्रयोग गर्दै आएका छन्। कहिले नेकपा एमाले त कहिले नेकपा एकीकृत समाजवादीको झण्डामुनि ओत लागेर उनले स्थानीय विकास मन्त्रीदेखि बागमती प्रदेशको मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। तर, यही ‘लामो समय सत्ताको स्वाद’ नै यसपटक उनका लागि प्रत्युत्पादक बन्ने खतरा बढेको छ। विपक्षीहरूले उनलाई ‘शक्ति मोह’ को आरोप लगाउँदै गर्दा ७० वर्षको हाराहारीमा पुगेका पाण्डेले ‘यो मेरो अन्तिम उम्मेदवारी’ भन्दै भावनात्मक कार्ड प्रयोग गर्न थालेका छन्, जसलाई स्थानीयले २०६४ सालदेखिकै पुरानो लयको रूपमा चित्रण गर्न थालेका छन्।

धादिङ-१ को २०७९ सालको चुनावी गणित निकै रोचक थियो। त्यतिबेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बलियो टेको पाएका पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गरी नेकपा एमालेका भूमि प्रसाद त्रिपाठीलाई ७ हजार ९ सय ८१ मतान्तरले पराजित गरेका थिए। त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरी तेस्रो शक्ति बनेका थिए।
तर, यसपटकको चित्र पूर्णतः फेरिएको छ। हिजोका सहयात्री कांग्रेस अहिले कृष्ण रिजाललाई लिएर आफ्नै बुतामा मैदानमा उत्रिएको छ भने २०७९ मा आन्तरिक कलहले थलिएको एमाले यसपटक भूमि प्रसाद त्रिपाठीको नेतृत्वमा ‘बदला’ लिने रणनीतिसहित एक ढिक्का भएर उभिएको दाबी गर्छ। झन्, अघिल्लो निर्वाचनमा करिब साढे १२ हजार मत ल्याएको रास्वपाले यसपटक सामाजिक अभियन्ता आशिका तामाङलाई अघि सारेपछि परम्परागत दलहरूको किल्लामा भूकम्प गएको छ। जातीय समीकरण र ठूला दलप्रति निराश युवा समूहको मत तामाङको पक्षमा जाने आंकलनले पाण्डे, त्रिपाठी र रिजाल तिनै जनालाई संकटमा पारेको छ।
पाण्डेका लागि अर्को ठूलो धक्का आफ्नै निकट पात्रहरूको विद्रोह बनेको छ। पुस्तान्तरणको नारा लगाउँदै नेकपाकी केन्द्रीय सदस्य सीता ढुंगाना लगायतका नेताहरूले पार्टी परित्याग गरेपछि पाण्डेको संगठनात्मक आधार कमजोर बनेको चर्चा छ। अघिल्लो निर्वाचनमा फराकिलो जित निकालेका पाण्डेका लागि यसपटक त्रिपाठी र रिजालको वलियो संगठनको आधार र रास्वपाको बढ्दो लहरलाई चिर्नु ‘फलामको च्युरा’ चपाउनु सरह हुने देखिन्छ।
मुख्य प्रतिस्पर्धीका रूपमा एमालेका त्रिपाठी, नेकपाका पाण्डे, कांग्रेसका रिजाल र रास्वपाकी तामाङ देखिए पनि राप्रपाका गीता प्रसाद आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका सुमन तामाङ लगायतका साना दल र १० जना स्वतन्त्र उम्मेदवारहरूले काट्ने मतले परिणामलाई निकै रोमाञ्चक बनाउने निश्चित छ। यो क्षेत्र धुनिबेसी नगरपालिकादेखि थांक्रे, गल्छी, गजुरी, वेनिघाट–रोराङ र सिद्धलेक गाउँपालिकासम्म फैलिएको छ।
एकातिर दशकौँदेखिको अनुभवी र चतुर राजनीतिक खेलाडी, अर्कोतिर नयाँ अनुहारप्रति मतदाताको बढ्दो आशक्ति—धादिङ १ को यो निर्वाचनले अनुभवी विरासतको रक्षा गर्छ कि पुस्तान्तरणको नयाँ अध्याय सुरु गर्छ, त्यसको अन्तिम फैसला भने मतदाताको रोजाइले नै गर्नेछ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा समानुपातिक तर्फ ८१ हजार १ सय १३ मत खसेकोमा नेकपा एमालेले २४ हजार ८१३, नेपाली काँग्रेसले १६ हजार ५६७, नेकपा माओवादी केन्द्रले १५ हजार ७ सय ९४,राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १ सय २७, नेकपा एकीकृत समाजवादीले ६ हजार ३७,राष्ट्रिय प्रताजन्त्र पार्टी (राप्रपा)ले २४ सय २३, अन्य विभिन्न दलहरुले २३ सय ३८ मत पाएका थिए भने ३ हजार १६ मत बदर भएको थियो ।
धादिङ क्षेत्र नम्बर १ मा यो पटक १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेको छ । जस्मा धुनिबेसी नगरपालिकामा २६ हजार ७ सय ६,थांक्रेमा २७ हजार ७ सय २५, गल्छमिा २१ हजार ३ सय ३२, गजुरीमा १८ हजार ९ सय ८९, सिद्धलेकम २० हजार ६ सय ७३ र वेनिघाटरोराङमा २१ हजार २ सय ६१ जना मतदाता रहेका छन् ।







Great article! Navigating online gaming in the Philippines can be tricky, especially with promos. I saw you can find a bwin bonus code slot download to help – good to know about those PAGCOR requirements too! 👍
Refer friends, collect commissions—sign up now!
Join our affiliate community and maximize your profits!