१० औँ धादिङ महोत्सवमा स्थानीय उत्पादन र सांस्कृतिक पहिचानको संगम सल्यानटारको मासदेखि बूढीगण्डकी निर्माणको दबाबसम्म

428 पटक पढिएको

१७ माघ २०८२, शनिबार ०७:२१ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, १८ माघ  । “धादिङको दिगो विकास र समृद्धिको आधार, कृषि, पर्यटन, जलविद्युत र उद्योगको पूर्वाधार” भन्ने नाराका साथ माघ १५ गतेदेखि धादिङबेसीको खुला मञ्चमा सुरु भएको ‘१० औँ धादिङ महोत्सव’ ले यतिबेला जिल्लाबासीको ध्यान खिचेको छ। आगामी माघ २५ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा स्थानीय उत्पादनको बजार प्रवर्द्धन, सांस्कृतिक प्रदर्शनी र राष्ट्रिय सरोकारका मुद्दाहरूले प्राथमिकता पाएका छन्।

महोत्सवमा १५० भन्दा बढी स्टलहरू रहे पनि कृषि तथा स्थानीय उत्पादनका स्टलहरूमा सबैभन्दा बढी चहलपहल देखिएको छ। विशेष गरी गल्छी गाउँपालिकाको प्रसिद्ध ‘धिताल मिठाई पसल’ ले ल्याएको खुवा, लस्सी, गुँदपाक र पुष्टकारीले महोत्सव तताएको छ। देशका उच्च पदस्थ व्यक्तित्वहरूले समेत रुचाउने गल्छीको स्वादिलो खुवा र लस्सी चाख्नका लागि महोत्सवको मञ्च अगाडि रहेको स्टलमा दर्शकहरूको भिड लाग्ने गरेको छ। गल्छीको खुवाले महोत्सवको रौनकलाई थप उचाइमा पुर्याएको छ।

त्यसैगरी, सल्यानटारको पहिचान बनेको ‘सल्यानटारको मास’ ले पनि उत्तिकै चर्चा पाएको छ। स्वादिलो र अर्गानिक हुनुका साथै सजिलै पाक्ने भएकाले उपभोक्ताको रोजाइमा यो मास परेको हो। मास विक्रेता सञ्जु श्रेष्ठका अनुसार सल्यानटारको मास र कालो भटमास प्रतिपाथी एक हजार रुपैयाँमा धमाधम बिक्री भइरहेको छ। यसले ‘एक गाउँ एक उत्पादन’ को अभियानलाई मात्र सघाएको छैन, स्थानीय किसानको मिहिनेतलाई बजारसम्म जोड्ने बलियो सन्देश समेत दिएको छ।

ज्वालामुखी गाउँपालिका-५ का पूर्व वडाअध्यक्ष कृष्णप्रसाद काप्रीको स्टल पनि महोत्सवको अर्को आकर्षण हो। राजनीतिसँगै व्यावसायिक कृषि र मौरीपालनमा जमेका काप्रीले शुद्ध ‘खरीको मह’ बिक्रीका लागि राख्नुभएको छ। पहिलो दिन निःशुल्क मह चाख्ने व्यवस्था मिलाएका काप्रीको स्टलमा पुगेर धेरै दर्शकले धादिङकै शुद्ध महको स्वाद लिएका छन्।काप्रीले मण्डली मौरी फर्म स्थापना गरी व्यवसायिक रुपमा मह उत्पादन गर्दै आईरहेका छन् ।

महोत्सव केवल व्यापारको थलो मात्र बनेको छैन, यो सांस्कृतिक र राजनीतिक सचेतनाको केन्द्र पनि बनेको छ। महोत्सव स्थलमा जिल्लाको ऐतिहासिक भैरबी मन्दिर को पहिचान झल्काउने विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्।

विशेष गरी, राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना को निर्माण कार्यलाई तत्काल अघि बढाउन सरकारलाई दबाब दिने उद्देश्यले ‘हस्ताक्षर कार्यक्रम’ पनि सुरु गरिएको छ। महोत्सव हेर्न आउने दर्शकहरूले उत्साहपूर्वक हस्ताक्षर गर्दै विकासका लागि ऐक्यबद्धता जनाइरहेका छन्।

दैनिक रूपमा सञ्चालन भइरहेका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले महोत्सवमा छुट्टै उत्साह भरेको छ। अन्य औद्योगिक तथा व्यापारिक स्टलहरूमा पनि दर्शकको उपस्थिति राम्रो रहे पनि स्थानीय कृषि र मौलिक स्वादका स्टलहरूले भने यसपटकको महोत्सवमा बाजी मारेका छन्।

माघ २५ गतेसम्म चल्ने यस महोत्सवले धादिङको कृषि, उद्योग र पर्यटनलाई नयाँ दिशा दिने विश्वास आयोजकले लिएको छ। जिल्लाको मौलिक स्वाद र संस्कृतिको अनुभव लिनका लागि महोत्सव आयोजक समितिले सम्पूर्ण धादिङबासी तथा छिमेकी जिल्लाका बासिन्दाहरूलाई खुला मञ्चमा निमन्त्रणा गरेको छ।