धादिङको पत्रकारिता इतिहास र विवरण अब एक क्लिकमा
388 पटक पढिएको
धादिङ- नेपाल पत्रकार महासंघ धादिङ शाखाले आफ्नो संस्थागत गतिविधि र जिल्लाको पत्रकारितालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपाल पत्रकार महासंघ धादिङ शाखाको सभा हलमा माघ १८ गते आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले www.fnjdhading.org वेबसाइटको औपचारिक शुभारम्भ गर्नुभयो।
वेबसाइटको उद्घाटन गर्दै अध्यक्ष शर्माले स्थानीय पत्रकारिता, प्रेस स्वतन्त्रता र सूचनामा नागरिकको पहुँचलाई थप डिजिटल र व्यवस्थित बनाउन यो कदम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रविधिको प्रयोगले पत्रकारितामा पारदर्शिता र गतिशीलता थप्ने बताउनुभयो।

जिल्ला शाखाका अध्यक्ष सीताराम अधिकारीका अनुसार वेबसाइटमा शाखाका दैनिक गतिविधि, निर्णयहरू, र जिल्लामा कार्यरत पत्रकारहरूको अद्यावधिक विवरण समावेश गरिएको छ। यसका साथै जिल्लाको पत्रकारिताको इतिहास, स्थानीय सञ्चार माध्यमहरूको जानकारी, पत्रकारितासँग सम्बन्धित ऐन, नियम, र आचारसंहितालाई पनि वेबसाइटमा समेटिने छ। सूचनाको छिटो-छरितो प्रवाहका लागि यो प्लेटफर्म प्रभावकारी हुने उहाँको भनाइ छ।
नेपाल पत्रकार महासंघ, धादिङ शाखा जिल्लाका क्रियाशील पत्रकारहरूको साझा र छाता संगठन हो। श्रमजीवी पत्रकारहरूको हक-हितको संरक्षण, पेसागत मर्यादाको संवर्द्धन र प्रेस स्वतन्त्रताको रक्षाका लागि यो शाखा निरन्तर प्रतिबद्ध रहेको अध्यक्ष अधिकारीको भनाई थियो ।
बदलिँदो समय र सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै शाखाले आधिकारिक वेबसाइटको सुरुवात गरेको र यस प्लेटफर्ममार्फत जिल्लाको पत्रकारिताको गौरवमय इतिहास, सदस्यहरूको आधिकारिक विवरण, शाखाका गतिविधिहरू र पत्रकारितासँग सम्बन्धित नीति-नियमहरूलाई पारदर्शी र सहज रूपमा सार्वजनिक गर्ने उहाँले बताउनु भएको छ ।
वेबसाइट सार्वजनिक कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, र धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले डिजिटल रुपान्तरणको स्वागत गर्दै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्यहरू, मुख्य अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनाल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा जिल्लामा क्रियाशील पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
शाखाले यस डिजिटल माध्यममार्फत पत्रकार र सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सूचनालाई एकै ठाउँमा उपलब्ध गराई नागरिक र पत्रकारबीचको दुरी कम गर्ने लक्ष्य लिएको छ।







Promote, refer, earn—join our affiliate program now!
Be rewarded for every click—join our affiliate program today!
Wishing you a happy day, every day!