निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक: धादिङका ३२ जना उम्मेदवार समेटिए
665 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगले ६३ वटा राजनीतिक दलका तर्फबाट पेश भएका नामावलीलाई आवश्यक जाँचबुझ गरी अन्तिम सूची प्रकाशन गरेको हो।
आयोगको विवरण अनुसार देशभरबाट कुल ३ हजार १३५ जना उम्मेदवारहरू बन्दसूचीमा कायम भएका छन्। जसमा महिलाको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ।
धादिङको सन्तुलित प्रतिनिधित्व
आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूचीमा धादिङ जिल्लाबाट ३२ जना उम्मेदवारहरू विभिन्न राजनीतिक दलको रोजाइमा परेका छन्। धादिङको उम्मेदवारीमा पूर्ण लैंगिक सन्तुलन देखिएको छ, जसमा महिला र पुरुष १६/१६ जना रहेका छन्।
समावेशी समूहका आधारमा धादिङबाट आदिवासी जनजाति तर्फ १४ जना, खस आर्य तर्फ १३ जना र दलित तर्फ ५ जना उम्मेदवारहरू बन्दसूचीमा परेका छन्। जिल्लाका स्थापित नेतादेखि नयाँ अनुहारसम्मलाई दलहरूले समानुपातिक सूचीमा प्राथमिकता दिएका छन्।
प्रमुख दल र उम्मेदवारहरू
प्राप्त विवरण अनुसार, नेपाली काँग्रेसबाट सीता थपलिया, सेतेमान तामाङ र शान्ता कुमारी तामाङ बन्दसूचीमा छन्। नेकपा एमालेका तर्फबाट गंगा देवी श्रेष्ठ, डा. पुष्पराज कँडेल र लक्ष्मण शर्मा समेटिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा र अम्मर परियार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट इन्दिरा ढुंगाना सूचीमा अटाएका छन्। आम जनता पार्टीबाट देवी पण्डित रेग्मी, काल बहादुर विक र रस्मिता थापा समानुपातिक उम्मेदवार रहेका छन्।
साना दलको बाक्लो उपस्थिति
समावेशी जनजाती पार्टीबाट बसन्त परियार, नागरिक शक्ति नेपालबाट भजुराम केसी र सरिना सुनार, तथा मंगोल नेशनल अर्गनाईजेशनबाट मिना गुरुङ र अस्मिता विक सूचीमा छन्। त्रिमूल नेपालले इन्दिरा कुमारी गुरुङ धमला र नवराज थापालाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, श्रम संस्कृति पार्टीबाट मुक्तिनाथ चन्द र बैकुण्ठ दहाल, राष्ट्रिय मुक्ती आन्दोलनबाट उमा श्रेष्ठ, राष्ट्रिय जनता पार्टीबाट विरे तामाङ, र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट ध्रुव प्रसाद काप्री ,निकिता तामाङ, दिनेश कुमाल र सृजना रिजाल उम्मेदवार रहेका छन्। नेपाल जनता पार्टीबाट मोहनलाल श्रेष्ठ र नन्दलाल धरेल तथा संयुक्त नागरिक पार्टीबाट लुका माया तामाङ र चेरोङ तामाङ पनि समानुपातिक सूचीमा परेका छन्।
निर्वाचन आयोगले यो सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले सम्बन्धित दलले पाउने कुल मतका आधारमा संसदमा प्रवेश पाउने बाटो खुलेको छ।








Earn recurring commissions with each referral—enroll today!