निर्वाचनको अन्तिम घडी: ४८ घण्टाको ‘मौन अवधि’ र मतदाताको परीक्षा

330 पटक पढिएको

१८ फाल्गुन २०८२, सोमबार १९:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १८ फागुन- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले गर्दै आएको प्रचारप्रसारको समय आज मध्यरातदेखि समाप्त हुँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आज राति १२ बजेसम्मका लागि प्रदान गरेको प्रचारप्रसारको समय सकिएसँगै मतदान हुनु ४८ घण्टा अघिको ‘मौन अवधि’ सुरु हुन लागेको हो। मतदान सम्पन्न नभएसम्म कायम रहने यो अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि किसिमको प्रचारप्रसार, भाषण, भेला, छलफल वा समीक्षा गर्न पाइने छैन।

मौन अवधिको समयमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न र निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल गर्न आयोगले पूर्ण प्रतिबन्ध लगाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्र नभई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कडा कारबाही गरिनेछ। आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ।

मौन अवधिको परिकल्पना मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासनबाट मुक्त राखेर स्वच्छ र स्वतन्त्र वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्न अवसर सिर्जना गर्ने उद्देश्यले गरिएको हो। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यो समय मतदाताका लागि ‘फ्रेस’ भएर योग्य उम्मेदवार छनोट गर्ने र निर्वाचन व्यवस्थापन गर्ने निकायका लागि शान्ति सुरक्षा र प्राविधिक बन्दोबस्त मिलाउने महत्वपूर्ण अवसर हो। यस अवधिमा मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्रीहरू हटाउनुपर्ने र फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट समेत मत माग्न नपाइने व्यवस्था छ।

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ ११० स्थानका लागि ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाताका लागि १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरू निर्धारण गरिएको छ। निर्वाचनलाई भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ।


Finally, a platform that prioritizes safety alongside excitement; their responsible tools on Bet100 download make gaming truly sustainable for everyone seeking balanced entertainment today.