इरानका तेल भण्डारण केन्द्रमा इजरायलको पहिलो आक्रमण तेहरानको आकाश धुवाँले ढाकियो, युद्धमा मृतक संख्या १,६०० नाघ्यो

200 पटक पढिएको

२४ फाल्गुन २०८२, आईतवार २०:४२ सम्पादक: धादिङ न्यूज

तेहरान – इरानमा अमेरिका र इजरायलसँग जारी युद्ध नवौँ दिनमा प्रवेश गर्दा द्वन्द्व अझ तीव्र बनेको छ। यसैक्रममा इजरायलले पहिलोपटक इरानका तेल भण्डारण तथा उत्पादनसँग सम्बन्धित केन्द्रहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। शनिबार भएको उक्त आक्रमणपछि राजधानी तेहरानको आकाश बाक्लो धुवाँले ढाकिएको दृश्य देखिएको छ भने प्रारम्भिक विवरण अनुसार कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको संयुक्त आक्रमण नवौँ दिनसम्म जारी रहँदा इरानमा मात्रै १,३०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। त्यस्तै, लेबनानमा करिब ३०० जनाको मृत्यु भएको छ भने इजरायलमा पनि करिब एक दर्जन नागरिकको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। यससँगै क्षेत्रीय तनाव झन् चर्किएको छ र मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ।

इरानी समाचार संस्था फार्सका अनुसार शनिबार भएको आक्रमणले तेहरान र अलबोर्ज प्रदेशका चार प्रमुख तेल भण्डारण केन्द्र तथा एक तेल उत्पादन स्थानान्तरण केन्द्रमा ठूलो क्षति पुगेको छ। आक्रमणपछि ती स्थानमा भीषण आगलागी भएको र धेरै ठाउँमा आगो नियन्त्रणमा ल्याउन घण्टौँ लागेको बताइएको छ।

आक्रमणमा तेहरानको उत्तर-पूर्वस्थित अघदासिये तेल गोदाम, दक्षिणतर्फ रहेको तेहरान रिफाइनरी, पश्चिम क्षेत्रमा रहेको शहरान तेल भण्डारण केन्द्र र नजिकैको कराज शहरको तेल गोदाम मुख्य लक्ष्य बनेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार शहरान डिपोमा विस्फोट भएपछि तेल सडकसम्म बगेर पुगेको थियो र वरपरका क्षेत्रमा कालो धुवाँ फैलिएको थियो।

फार्स समाचार एजेन्सीका अनुसार तेहरान र अलबोर्ज क्षेत्रमा भएको आक्रमणमा कम्तीमा चार ट्यांकर चालकको मृत्यु भएको पुष्टि भएको छ। घाइतेको संख्या पनि थप हुन सक्ने अनुमान गरिएको छ। यद्यपि इरानी अधिकारीहरूले देशभर इन्धन आपूर्तिमा तत्काल कुनै अभाव नरहेको बताएका छन्। उनीहरूका अनुसार सुरक्षा निकाय र आपतकालीन टोलीहरू आगलागी नियन्त्रणमा लिन र क्षति न्यूनीकरण गर्न निरन्तर खटिरहेका छन्।

उता इजरायलले भने ती तेल भण्डारण केन्द्रहरू केवल नागरिक प्रयोजनका लागि मात्र नभई इरानी सैन्य संरचना सञ्चालनका लागि पनि प्रयोग भइरहेको दाबी गरेको छ। इजरायली अधिकारीहरूका अनुसार इरानी सैन्य गतिविधि कमजोर पार्ने उद्देश्यले ती स्थानमा लक्षित आक्रमण गरिएको हो।

तेहरानबाट रिपोर्टिङ गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था अल जजिराका पत्रकार तोहिद असादीले नागरिक औद्योगिक संरचनामा भएको यस्तो हमला हालसम्मकै अभूतपूर्व भएको बताएका छन्। उनका अनुसार आक्रमणपछि आइतबार बिहान शहरमा कालो वर्षाजस्तो थोपा परेको देखिएको थियो, जसले विषाक्त धुवाँ र प्रदूषणको जोखिम बढाएको छ।

अर्का पत्रकार मोहमद भालका अनुसार तेल केन्द्रमा गरिएको आक्रमण केवल सैन्य रणनीति मात्र नभई इरानी जनतालाई त्रसित पार्ने “मनोवैज्ञानिक युद्ध”को रणनीति पनि हुन सक्छ। उनले यसले इरानी सेनाको आवागमन तथा आपूर्ति प्रणालीलाई कमजोर पार्ने उद्देश्य पनि हुन सक्ने बताएका छन्।

यद्यपि केही अन्तर्राष्ट्रिय विश्लेषकहरूले इरानको भौगोलिक आकार र तेल पूर्वाधारको विशाल नेटवर्कका कारण यस्ता सीमित आक्रमणले तत्कालै पूर्ण इन्धन संकट सिर्जना गर्ने सम्भावना कम रहेको बताएका छन्। तर लगातार आक्रमण भइरहेमा ऊर्जा आपूर्ति, अर्थतन्त्र र नागरिक जीवनमा ठूलो असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।

यसैबीच युद्ध लम्बिँदै जाँदा मध्यपूर्व क्षेत्रभर तनाव झन् बढेको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविरामको अपिल गरिरहे पनि दुवै पक्षबाट आक्रमण रोकिएको संकेत भने अहिलेसम्म देखिएको छैन।