समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना, रास्वपाको अग्रता कायमै
251 पटक पढिएको
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले मंगलबार बिहान ५:५० बजेसम्म उपलब्ध गराएको पछिल्लो विवरणअनुसार हालसम्म कूल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न भएको छ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ। रास्वपाले हालसम्म ४९ लाख २९ हजार ८५० मत प्राप्त गर्दै सबैभन्दा बढी मत पाउने दल बनेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८५ हजार ७३० मतका साथ तेस्रो स्थानमा रहेको छ।
आयोगको तथ्याङ्क अनुसार अन्य दलहरूतर्फ नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६ मत पाएको छ। त्यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेका छन्। मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रहरूमा अझै पनि मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ।







